सवारी दुर्घटनामा १० जनाको मृत्यु


काठमाडौं।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ राप्तिपुलस्थित सडकमा बा.प्र.०३-००१ ज ०२५७ नम्बरको म्याजिकले ना.१५ प ४१५७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त म्याजिक पुन: ना.१ ज ८१३१ नम्बरको म्याजिकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । दुवै म्याजिकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरस्थित सडकमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०३-००५ प ९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुर बाग्मती गाउँपालिका-४ बस्ने २२ वर्षीय प्रविन बजुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मकवानपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

सिराहा, औरही गाउँपालिका-४ स्थित सडकमा बरियारपट्टीबाट सिराहातर्फ आउँदै गरेको बिआर ३२ एम २०१५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका-१८ बस्ने १७ वर्षीय मनिष कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० भैसाखोरीस्थित सडकमा गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना.७ ख २५२५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ बस्ने पुष्प राज श्रेष्ठको छोरा ७ वर्षीय बिशाल श्रेष्ठ र ५५ वर्षीया श्रीमाया मानन्धरको शुक्रबार राती मृत्यु भएको छ । दुर्घटनामा बिशालको घटनास्थलमै र गम्भीर घाइते भएकी श्रीमाया मानन्धरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, खजुरा गाउँपालिका-७ चाईनाभट्टास्थित सडकमा बर्दियादेखि नेपालगंजतर्फ आउँदै गरेको भे.८ प ३०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राती दुर्घटना हुँदा चालक बर्दिया बढैयाताल गाउँपालिका-५ बस्ने ३१ वर्षीय बिपिन पंगेनिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१० कैसिल्या अस्पताल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ आउँदै गरेको लु.प्र.०१००१ प ११५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका-१० बस्ने ३८ वर्षीय भुपेन्द्र सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका कालिकाचोक नजिकै योगिकुटिबाट राजमार्ग चौराहातर्फ आउँदै गरेको लु.४८ प ३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-९ ईटाभट्टी होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका-७ घर भएका २३ वर्षीय निरंजन रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूपन्देही, देवदह नगरपालिका-२ श्रीटोलस्थित सडकमा शंकरपुरबाट खैरेनीतर्फ जाँदै गरेको लु.८७ प ६८८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया अम्बिका खनालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुही हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ जमुनियास्थित सडकमा लु.४ प ७६९१ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठक्कर खाई शुक्रबार राती दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-१३ नारायणचोक बस्ने ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।