हलेसी प्रवेशद्वार र रकगार्डेन पुग्ने सडक ढलान सुरु

1.6k
Shares

.खोटाङ। 

खोटाङस्थित प्रसिद्ध हलेसी मन्दिर प्रवेशद्वार तथा रक गार्डेन अर्थात्  ढुङ्गे बगैँचा पुग्ने सडकलाई ढलान गर्ने कार्य सुरु गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयको भ्याटसहित आठ करोड ३९ लाख ५१ हजार लगानीमा सम्पन्न गर्नेगरी चन्द्र ज्योति कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले सडक ढलान गर्ने कामको जिम्मा लिएको हो ।

 २०८१ जेठ–२९ गते सम्झौता गरिएको दुवै सडक ढलानको काम २०८२ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको छ । दुवै सडक पूर्व शहरी विकासमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सीता गुरुङले औपचारिक रुपमा शिलान्यास गरेकी हुन् ।

उक्त योजना अन्तर्गत  हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्वारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने जनाइएको छ । यस्तै, रक गार्डेन जाने करिब एक हजार २ सय मिटर सडक ढलान पनि सोही बजेटबाट गरिने जनाइएको छ ।

सडक ढलान योजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसर हिलो र धुलोमुक्त हुने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्  । हलेसीमा पार्किङको समेत समस्या छ । आगामी वर्षबाट त्यो सबै समस्या हल हुने अपेक्षा गरिएको छ ।

धार्मिकरुपमा मात्र नभई प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ ।