पहिरोले अवरुद्ध बेनी–दरबाङ सडक पुनः सञ्चालन

1.32k
Shares

म्याग्दी।

 वर्षासँगै पहिरो खसेर शुक्रवार बिहानैदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक पुनः सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीर, मंगला–२ को सिम र लाम्पाटा तथा मालिका–६, दरबाङको बाङ्गेभीर क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । सडक खुलेसँगै बीच सडकमा रोकिएका सवारीसाधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको उनले बताए । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसँगको समन्वयमा जेसिभी मेसिनलगायत इक्वीपमेन्टको प्रयोग गरेर सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक खुलेको हो । बिहीबार राति परेको वर्षाको कारण पहिरो खसेर सडक बन्द भएपछि तिज मनाउन आवतजावत गर्ने सर्वसाधारण तथा यात्रुलाई यात्रा गर्न सास्ती भएको थियो । वर्षात्को समयमा बेनी–दरबाङ सडकखण्डको घुमाउनेभीर र बाङ्गेभीर क्षेत्रमा वर्षालगत्तै पहिरो खसेर सडक बन्द हुनुका साथै यात्रा जोखिमपूर्ण हुने गरेको छ । 

म्याग्दी सदरमुकाम बेनीदेखि दरबाङसम्म कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ । म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला–गूर्जाघाट–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ । छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरुले समेत बेनी–दरबाङ सडक प्रयोग गर्छन् । बागलुङ–बुर्तिबाङ हुँदै पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पमा म्याग्दीको बेनी–दरबाङ सडक रहेको छ । 

यता हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सडक भने शुक्रवार साँझदेखि नै पुनः सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रको विभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको थियो । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ । उत्तर र दक्षिणका दुई छिमेकी मुलुक चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडक नेपालको सबैभन्दा छोटो दूरीमा रहेको छ ।