काठमाडौं ।
नेपालको सार्वजनिक प्रशासन सेवामा निकै कहलिएका पूर्व प्रशासक १०० वर्षीय लक्ष्मणप्रसाद रिमालको भोगाइले भन्छ– ‘नेपालमा कहिल्यै प्रजातन्त्रको अभ्यास हुन पाएन।’ मोहन शमशेर राणा प्रधानमन्त्रीका पालामा सचिव भएर उच्च तहको प्रशासनिक जिम्मेवारी सम्हालेका रिमाल अहिले पनि सामान्य हिँडडुल गर्ने र आफ्ना अनुभव सुनाउन सक्नुहुन्छ।
राणा, प्रजातान्त्रिक, संसदीय र पञ्चायती व्यवस्थामा मुलुकको प्रशासनको महत्वपूर्ण जिम्मेवारी सम्हालेका रिमालले भन्नुभयो– ‘अहिलेभन्दा पहिलाका मानिसहरू इमान्दार र नैतिकवान थिए । राजनीतिकर्मी र कर्मचारीहरूले आफ्नो लागि मात्रै होइन देश र जनताको अवस्था र आवश्यकता बुझेर काम गर्थे।’ २००७ सालको क्रान्ति, प्रधानमन्त्री मोहन शमशेरका पालामा राजा बनेका नाबालक ज्ञानेन्द्र शाहको राज्यरोहण, दरबारभित्रका चुनौतीपूर्ण समय, विदेशीहरूसँग नेपालको सम्बन्ध तत्कालीन नेतृत्वकर्ताबाट हुने वैदेशिक सम्बन्ध र शरण परेको अवस्थाका बारेमा समेत राम्रोसँग जानकारी राख्ने रिमाललाई बितेका कुराहरूको सम्झना कमै छ। तर, उहाँले यी सबै कुराहरू आफ्नो पुस्तक बितेका ती दिनहरूमा उल्लेख गर्नुभएको छ।
राणाकालीन समयदेखि पञ्चायती व्यवस्थासम्म राष्ट्रसेवक भई रिमालले गरेको नेपालको प्रशासनिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । सेवाकालीन अवस्थामा आएका सबैखाले राजनीतिक व्यवस्थामा पनि आफ्नो पदीय दायित्वलाई सक्षमताका साथ परिचालन गर्ने सबल कार्यशैली उहाँको अर्को परिचय रहेको रिमाललाई निकटबाट चिन्नेहरू बताउँछन् ।
पानीपोखरीस्थित उहाँकै घरमा कुराकानीका क्रममा लक्ष्मण रिमालले पहिलो प्रश्नमै सय वर्ष काटेका नेपालमा कति मानिसहरू छन् ? सोध्नुभयो । मसँग पनि यकिन तथ्यांक थिएन, तर, उहाँलाई उत्तर दिनुपर्ने मेरो जिम्मेवारी आइलाग्यो । रिमाललाई मैले भने, ‘सय वर्ष बाँचेका मानिसहरू कति छन् भन्ने मलाई पनि यकिन छैन तर, केही मान्छेहरूमात्रै सय वर्ष बाँचेका छन् । अहिले त्यस्ता व्यक्तिहरू निकै कम छन्।’
जीवनको उत्तराद्र्धमा पनि सफाचट लवाइ खुवाइ भएका रिमाललाई उहाँका छोरा बुहारीले यो व्यवस्था मिलाएका छन्। केही वर्षअघिसम्म पत्रपत्रिका पढ्ने रिमालको अहिले आँखाले अक्षर भेउ पाउन छाडेको रिमालका छोरा उज्ज्वल रिमालले बताउनुभयो । श्रवणशक्तिसमेत विस्तारै कमजोर हुँदै गएकाले उहाँसँग संवाद गर्न केही कठिन छ।
यद्यपि, आफ्नो जीवन भोगाइका कुरा सुनाउन पाउँदा खुसीसाथ अभिव्यक्त गर्न खोज्नुले उहाँको सक्रियतालाई थप पुष्टि गर्दछ। परिवारका सदस्यले उहाँलाई खानपान, साधारण हिँडडुल र आरामलाई नियमित समय तालिकाअनुसार पालना गर्ने गराउने भएकाले उहाँको सक्रियतामा केही वर्ष अझै ह्रास नआउने पारिवारिक अपेक्षा छ।
साना अक्षर चिन्न अलि असहज भएको बताउनुहुन्छ। ठूला अक्षर अझै खोट्याउँदै हुनुहुन्छ। समय तालिकाअनुसार खाने र घर वरपर हिँडडुल गर्ने कार्यमा सक्रिय हुनुहुन्छ । तर, पुराना तथ्य तथ्यांकहरूको स्मरणमा कमी हुँदै गएको छ।
१०४ वर्षे राणा शासनका अन्तिम तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो राजा श्री ३ महाराज र प्रधानमन्त्री मोहन शमशेर मुख्तीयार हुँदा खरिदारको पदबाट सरकारी नोकरीमा प्रवेश गर्नुभएका रिमाल २००८ सालमा जागिर छाडेर भारतको लखनौ विश्वविद्यालयमा अंग्रेजी साहित्य र जनप्रशासन विषयमा स्नातकोत्तर गरी स्वदेश फर्कनुभयो।
२०१० सालमा पाटन कलेजमा अंग्रेजी विषयका प्राध्यापक भएर काम गर्नुभएको थियो। राणाकाल, प्रजातान्त्रिक, संसदीय र पञ्चायती व्यवस्थाअन्तर्गत दुई दशक मुलुकको महत्वपूर्ण पदमा काम गरी २०३० सालमा सचिव पदबाट निवृत्त हुनुभएका रिमाल अहिले पनि इतिहासका कुराहरू सम्झने कोसिस गर्नुहुन्छ। स्मरण गर्न असहज हुँदै गए पनि उहाँले आफ्नो पुस्तक बितेका ती दिनहरूमा लेखेको कुरा स्मरण गराउँदै आफ्नो कार्यकालमा भेगेका चार राजाहरूलाई फरक फरक ढंगले विश्लेषण गर्नुभएको छ।
पहिलो राजा त्रिभुवनलाई विनयशील, महेन्द्र गम्भीर, ‘स्टेटस्म्यान’ विरेन्द्र सरलता र ज्ञानेन्द्र संयोगले दुवैपटक राजा बन्न पुगेका भन्ने उहाँको तर्क छ । नेपालका अन्तिम राजा ज्ञानेन्द्रलाई २००७ सालमा बाजे बाबु र दाजुले मुलुक छाडेर जानुका कारण महाराज मोहन शमशेरले आफ्नो सत्ता सुरक्षित गर्नका लागि ‘बेबी किङ’ राजा बनाइएका र २०५८ मा राजा विरेन्द्रको वंश विनासपछि दोस्रोपटक पनि संयोगले राजा बन्न पुगेका ज्ञानेन्द्र शाहलाई गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका कारकको रूपमा रिमालले चित्रण गर्नुभएको छ ।
कुराकानीका क्रममा उहाँले राजनीति अत्यन्त फोहोरी हुँदै गएकाले शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । नेपालमा नागरिकको इज्जत मात्र होइन सुरक्षासमेत नभएको उहाँको टिप्पणी छ । अहिलेको सरकारी कामकाजको औचित्यमाथि प्रश्न उठाएका रिमालले भ्रष्टाचार र अकर्मण्यताले प्रशासन संयन्त्रलाई बेकम्मा बनाएको र न्याय क्षेत्रमा समेत सुधारको आवश्यक रहेको टिप्पणी गर्नुभयो । रिमालले यो उमेरमा पनि राष्ट्र, राष्ट्रियता र नागरिकप्रति मुलुकका शासकहरूले काम गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
रिमालको भोगाइमा नेपालमा कहिल्यै पनि प्रजातन्त्रको अभ्यास हुन पाएन । ‘नेपालमा प्रजातन्त्रको अभ्यास नै हुन पाएको छैन’, उहाँले आफ्नो पुस्तकमै लेखेको कुरा स्मरण गर्दै भन्नुभएको छ– ‘यदि हुँदो हो त यहाँ विधिको शासन हुन्थ्यो । १०४ वर्षसम्म राणा शासन, २००७ देखि २०१६ सम्मको छ्यासमिसे सरकार, ०१६ को संसदीय सरकार,०१८ देखिको पञ्चायती सरकार,०४६ को संसदखीय सरकार, ०६१ मा राजाको प्रत्यक्ष शासन, ०६३ को अन्तरिक सरकारको शासन, ०६४ को संविधानसभाको निर्वाचन, ०६५ जेठ १५ मा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको घोषणा, दोस्रो संविधानसभाको निर्वाचन २०७० र त्यसबाट बनेको गणातान्त्रिक संविधान, संघीयतापछिको तीन तहको सरकार यो कुनैमा पनि प्रजातन्त्र र विधिको शासन देख्न सकिएन।’
अझै सकारात्मक सोचका साथ मुलुक बनाउने भनेर लाग्दा सम्भावना बाँकी रहेको रिमालको बुझाइ छ। ‘गरेर नहुने केही छैन । आजको विश्वमा एउटा सानो मुलुकको विकास गर्न धेरै समय लाग्दैन । तर, हामीले सही मार्ग नै पहिल्याएका छैनौं, यही दुःखको कुरा हो । एउटा कुरा भन्न सकिन्छ, समय छँदै गरौं, अन्यथा पश्चातापसिवाय केही हात लाग्दैन ।’ सताब्दी पुरुष रिमालले भन्नुभएको छ ।











प्रतिक्रिया