तीजका उत्कृष्ट १० युट्युब गीत

0
Shares

सदाझैं यो वर्ष पनि तीज पर्व आउनुभन्दा करिब दुई महिना अघिदेखि नै गायकगायिकाले तीज गीत सार्वजनिक गरे। तीमध्ये कतिपय गीत शब्द चयन र दृश्यका कारण विवादमा परे। कतिपय गीत भने युट्युबको शीर्ष स्थानमा आउन सफल भए। लोकप्रियता र युट्युब भ्युजको आधारमा तीजसम्बन्धी उत्कृष्ट १० गीत यस्ता छन्

१. विष्णु माझीको आइन आमा यो तीजमा

गायिका विष्णु माझीको तीज गीत आइन आमा बोलको गीतले सोमबार युट्युबमा करोड क्लबमा प्रवेश गरेकोे छ। यो गीतले युट्युबमा २४ घण्टामै सबैभन्दा धेरैपटक हेरिएको नेपाली गीतको कीर्तिमान समेत राखेको छ भने एक दिनमै यो गीतको भिडियोलाई १५ लाख पटक हेरिएको छ।विष्णुको यो गीतले ९ दिनमा एक करोड भ्युज बटुलेको हो।पुतलीको भट्टी २० का रूपमा ल्याइएको आइन आमा बोलको यस गीतमा विष्णुका पति सुन्दरमणि अधिकारीको रचना र संगीत रहेको छ।भिडियोमा भने ललिता पौडेलले अभिनय गरेकी छन्।

भिडियोमा बाल कलाकार प्रविधि भण्डारी र गेस्ट आर्टिस्ट ललान चिमोरिया रहेका छन्।विष्णुको गीत पर्खिरहेका धेरै दर्शकलाई यो गीत आएपछि वास्तविक तीज आएको महसुस भएको छ। सुन्दरमणि अधिकारीको निर्देशन रहेको सो गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, शम्भू चालिसेको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ।

२. शान्तिश्रीकै काली पसौैं कि आमा

गायिका शान्तिश्री परियारको स्वर र प्रेम सापकोटा सोनुको शब्द संगीत रहेको अर्को गीत काली पसौं कि बोलको गीत पनि यसपालिको तीजमा चर्चा कमाउन सफल भयो।छोरीको वेदनाले भरिएको यो मौलिक भाकाले ५.९ मिलियन युट्युब भ्यूज कमाएको छ।बिनोद बाजुरालीको संगीत रहेको गीतमाथि कलात्मक भिडियो निर्माण गरिएको छ।जसमा जेरी भण्डारीको कथा, निर्देशन र कोरीयोग्राफी रहेको छ।स्मारिका ढकाल र जोन बम ठकुरीको अभिनय रहेको भिडियोमा नवीन घर्तीको सम्पादन रहेको छ।

३. पशुपति र प्रियाको मै लुरीलाई

गायक पशुपति शर्माको तीज गीत मै लुरीलाई युट्युबमा ५.५ मिलियनले हेरेका छन्।गीतमा पशुपति शर्मा र प्रिया भण्डारीको स्वर छ भने शब्द र संगीत गायक पशुपतिकै छ। गीतमाथि निर्मित भिडियोमा पशुपति स्वयंका साथमा जुना विश्वकर्माको नृत्य छ।भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ ।

४. मोहन र समीक्षाको बरी लै

गायक मोहन खड्का र गायिका समीक्षा अधिकारीको स्वर रहेको आउन राजा बोलको तीज गीत पनि लोकप्रिय बन्यो।यो गीत हालसम्म ५.१ मिलियन दर्शकले हेरिसकेका छन्।विमल अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा विमल अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।शंकर बिसीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा राजेश घिमिरेको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ।

५. एलिनाको मन परेको मान्छे

गायिका एलिना चौहानको तीज गीत मन परेको मान्छे पनि ट्रेन्डिङमा परिरहेको छ।मन परेको मान्छेलाई यो अवधिमा ४.९ मिलियन हाराहारीका दर्शकले हेरेका छन्।यसमा शब्द नेत्र अर्याल, संगीत दीपक शर्मा र एरेन्जमेन्ट एचबीएन किस्मतको छ।विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा अञ्जली अधिकारीले नृत्य गरेकी छन् ।

६. शान्तिश्रीको अर्को थोरै थोरै लाज

गायिका शान्तिश्री परियारको स्वर रहेको थोरै थोरै लाज बोलको गीत पनि लोकप्रिय छ। दुई साताअघि सार्वजनिक गीतलाई ३.६ मिलियन पटक हेरिएको छ।यसमा रमेश क्षेत्रीको शब्द, ऋषि खड्काको संगीत र एचबीएन किस्मतको एरेन्ज रहेको छ।भिडियोमा विमल अधिकारी, अञ्जली अधिकारी र स्मारिका ढकाल फिचर्ड छन्। यसको भिडियोको निर्देशक मौसम हिमाली हुन् भने करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

७. सूर्य र सुनिताको बुद्धको देश सिताको माइती

बुद्धको देश सिताको माइती बोलको तीज गीत युट्युब भ्युजको आधारमा नम्बर ७ मा छ।गीतमा सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ।शिव अखेलीलको शब्द र संगीत रहेको गीत दर्शक स्रोताले छोटो समयमै निकै मन पराएका छन्। गीतमा २.६ मिलियन भ्युज रहेको छ। चर्चा कमाउन विवादास्पद र दोहोरो अर्थ लाग्ने शब्द तथा त्यस्तै उत्तेजक र भड्किलो दृश्य समावेश गरेर तीज गीत निर्माण गर्ने प्रवृत्ति बढेको समयमा यो गीतमा सभ्य शब्द समावेश गरिएको छ।विजय पुन र जुना विश्वकर्माले अभिनय गरेको भिडियो जीवनकुमार ज्ञवालीले निर्देशन गरेका छन्।

८. प्रीति आलेको दुनियाँलाई

गायिका प्रीति आलेको शब्द र संगीत रहेको दुनियाँलाई बोलको तीज पनि व्यापक चर्चा कमाउन सफल गीत बनेको छ।प्रीतिको एकल स्वर रहेको गीतले महिलालाई शारीरिक बनावट र रूपरंगका आधारमा दिइने विभिन्न नाम र गरिने व्यवहारको विरोध गरेको छ। भिडियोमा भने प्रीतिको साथमा सम्झना बुढाथोकी, करिश्मा ढकाल, रुबिना अधिकारी र निकिशा श्रेष्ठ फिचर्ड छन्।जेरी भण्डारीको निर्देशन र कोरियोग्राफी, अजय रेग्मीको छयांकन र नबिन घर्ति मगरको सम्पादन रहेको गीतले २.६ मिलियन भ्युज बटुलेको छ।

९. अस्मिताको पिर कल्लाई छैन र

गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको गीत पिर कल्लाई छैन र पनि लोकप्रियताको शिखरमा छ।नाच्न मिल्ने गरी तयार पारिएको यो गीतमा अस्मिताकै शब्द र प्रकाश पराजुलीको संगीत रहेको छ।भिडियोमा शक्तिकुमार गोदार, सम्झना थापा र रमामाया गोदारको अभिनय रहेको छ। १.७ मिलियन भ्युज कमाएको गीतको भिडियोको काजिश श्रेष्ठले निर्देशन र कोरीयोग्राफी गरेका हुन्। बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन रहेको छ।

१०. शान्तिश्रीकै लौन नि भैया

गायिका शान्तिश्री परियारकै स्वरमा रहेको अर्को गीत लौन नि भैयाले पनि भ्युजको आधारमा सफल गीत सावित भएको छ।युट्युबमा १.५ मिलियन भ्युज बटुल्न सफल यस गीतमा बिक्रमबाबु विश्वकर्माको शब्द र अर्जुन सापकोटाको संगीत रहेको छ।भिडियोमा भने अञ्जली अधिकारी र पल शाहको नृत्य रहेको छ।गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ।