हरेक प्रदेशका ५ क्रिकेटरलाई मासिक तलब दिइने


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई मासिक तलब दिने भएको छ। क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो।

खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडीलाई सेन्ट्रल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

यस्तै, क्यानले टी–२० विश्वकप खेलेकाहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडी र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानले जानकारी दियो ।