विवादले भरिएका कालजयी फुटबलर म्याराडोना

0
Shares

बल ड्रिब्लिङमा पोख्त तथा अचुक प्रहारमा गोल गर्न माहिर होचा कदका म्याराडोना खेल मैदानको हरेक कोणमा प्राप्त बलबाट अवसर सिर्जना गर्न सिपालु थिए । तीव्र गतिमा पनि बललाई चुम्बकसरह आफ्नो नियन्त्रणमा राख्ने उनको अर्को खुबी थियो । यही कारणले विश्वभर उनको क्रेज अझै पनि सेलाएको छैन ।

सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप फुटबल प्रतियोगितामा १७ वर्षका म्याराडोनालाई राष्ट्रिय टोलीमा बोलाइएको थिए । तर, प्रशिक्षक लुइस मेनोत्तीले उनलाई फिर्ता पठाएका थिए । सन् १९८२ मा विश्वकपमा खेल्ने मौका पाएपनि उनको प्रर्दशन औसत रह्यो । तर, त्यसको चार वर्षपछि उनले आफूलाई विशेष प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन् ।


सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा आफ्नो विलक्षण क्षमताको भरमा उनले अर्जेन्टिनालाई दोस्रो पटक विश्वकपको उपाधि दिलाउन सफल भए । त्यतिबेला इंग्ल्यान्डविरुद्ध उनले हातले गरेको गोल अहिलेसम्म चर्चित छ । उक्त गोलले गोल ‘ह्यान्ड अफ गड’ नाम पाएको छ । सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका पाँचजना खेलाडीलाई छक्याउँदै गरेको गोललाई ‘गोल अफ द सेन्चुरीबाट’ बाट सम्बोधन गरिन्छ । जसको चर्चा अहिलेसम्म कायमै छ । उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलमध्येमा पर्छ ।

उनी सन् २०१० मा अर्जेन्टिनाको प्रमुख प्रशिक्षकरूपमा दक्षिण अफ्रिका पुगेका थिए । तर, त्यहाँ उनको टोलीले वाहवाही बटुल्ने प्रदर्शन भने गर्न सकेन । खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादमा मुछिए । लागू औषध सेवन तथा उग्र व्यवहारका कारण उनले आफ्नो गर्विलो छविलाई धमिलो बनाए ।

आक्रामक मिडफिल्डर म्याराडोनाको क्लब करियर कुरा गर्नुपर्दा उनले अर्जेन्टिनोस जुनियर्सबाट सन १९७८ देखि १९८० सम्म खेलेका थिए । त्यस्तै, बोका जुनियर्सबाट (१९८१–८२), बार्सिलोना (१९८२–८४), नेपोली (१९८४–९१), सेभिया (१९९२–९३), न्युवेल्स ओल्ड बोयज (१९९३–९४) र अन्तमा बोका जुनियर्सबाटै १९९५ देखि १९९८ खेलेर सन्यास लिएका थिए । त्यसक्रममा उनले अर्जेन्टिनाबाट ९१ अन्तर्राष्ट्रिय म्याच खेल्दै ३४ गोल गरेका थिए । सन् १९८२, १९८६, १९९०, १९९४ गरी चार विश्वकप खेलेका उनले २१ खेलमा ८ गोल गरेका थिए । फुटबलबाट सन्यास लिइसकेपछि माराडोनाले स्वास्थ्य समस्यामात्र होइन, कानुनी मुद्दाका साथै धेरै चुनौतीको सामना गरेका थिए । उनको व्यक्तिगत जीवनका साथै संघर्ष र उग्र व्यवहारका कारण समाचारमा प्रायजसो महत्वपूर्ण स्थान पाएका थिए ।

सन् १९६० मा जन्मेका म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । उनको भौतिक शरीर यो संसारमा नभएपनि फुटबलमा गरेको योगदानले उनको नाम कालजयी बनेको छ ।

म्याराडोना विवादित बन्नुका कारण:

ह्यान्ड अफ गड (१९८६ विश्वकप):
म्याराडोनासँग सम्बन्धित सबैभन्दा ठूलो विवाद सन् १९८६ विश्वकपको क्वार्टरफाइनल खेलमा भएको थियो । अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको उक्त खेलमा म्याराडोनाले आफ्नो हातले गोल गरेका थिए । जुन रेफ्रीले देखेनन् । यो गोललाई मान्यता दिइयो र अर्जेन्टिना २–१ ले विजयी बन्यो । उनले पछि यो गोललाई ‘ह्यान्ड अफ गड’ भनेर उल्लेख गरे ।

ड्रग्सको कुलतले पाएको सजाय
म्याराडोनाको करियर ड्रग प्रयोगले समस्याग्रस्त बन्यो । सन् १९९१ मा इटालीको क्लब नापोलीको लागि खेल्दा कोकिनको परीक्षणमा असफल भएपछि उनीलाई १५ महिना फुटबल खेल्नबाट प्रतिबन्ध लगाइयो । ब्युनोस आएर्सको एक होटलमा आधा किलो कोकेन काण्डका कारण पनि उनलाई १४ महिनाको जेल सजाय सुनाइएको थियो । सन् १९९४ विश्वकपमा पनि प्रतिबन्धित एपेड्रिनको प्रयोग गरेको प्रमाणित भएपछि विश्वपकपको समूह चरणको अन्तिम खेल खेल्न बांकी छंदै उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।
विश्वकप खेल्नुअघि नै कोकिन सेवन
सन् १९८२ भन्दा अघिदेखि नै म्याराडोना कोकिन सेवनकर्ता बनिसकेका थिए । १९८४ मा बार्सिलोनाबाट नापोली गएका बेला नै उनलाई कोकिनको लत लागिसकेको थियो । लागू औषधसँगै यौनकर्मीसँगको सम्बन्धले पनि उनी इटालियन माफियाको चँगुलमा फस्न पुगे ।
डोपिङमा नक्कली लिङ्ग प्रयोग
नक्कली लिङ्गको प्रयोग गरेर डोपिङलाई धोका दिँदै सन् १९९० को विश्वकपसम्म आइपुग्दा म्याराडोनाले ड्रग टेस्टलाई छल्नसमेत जानिसकेका थिए । बाहिरबाट पिसाब बोकेर ल्याउंदै उनी प्लास्टिकको नक्कली लिङ्ग प्रयोग गर्दै युरिन टेस्टका लागि दिन्थे । उनले प्रयोग गर्ने गरेको एक प्लास्टिकको लिङग अझै पनि ब्युनोस आएर्सको म्युजियममा राखिएको छ ।
पत्रकारमाथि गोली प्रहार
सन् १९९८ को जुन महिनामा पत्रकारमाथि राइफलबाट गोली चलाएको आरोपमा उनलाई दुई वर्ष १० महिनाका लागि सस्पेन्डेड जेल सजाय सुनाइएको थियो ।