मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

नवनिर्मित भवनले सेवा प्रवाहमा सहजता ल्याउने मुख्यमन्त्री पाण्डेको भनाइ

1.13k
Shares

म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवन उद्घाटन भएको छ । हिजो (बुधवार) एक समारोहबीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डले उक्त कार्यालयको तीनतले भवन, व्यारेक भवन तथा भान्साकोठाको समेत उद्घाटन गरेका थिए । गण्डकी प्रदेश सरकारबाट विनियोजित कुल तीन करोड ६० लाख ५२ हजार ८८ रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना १ दामको जग्गामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन बनाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रहरीको आवास सुविधा वृद्धिका साथै अन्य सेवासुविधाहरु उपलब्ध गराउन गण्डकी प्रदेश सरकार लागिपरेको बताए । उनले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नका लागि आउने भक्तजन, पर्यटक र स्थानीयवासीको समेत शान्ति सुरक्षामा नयाँ भवनबाट सेवा प्रदान गर्न प्रहरीलाई सहज हुने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नवनिर्मित भवन परिसरमा प्रहरीका लागि कार्यालय, व्यारेक भवन, भान्साघर तथा शौचालय समेत निर्माण गरिएको छ । निर्माण व्यवसायी अमित बिल्डर्स प्रालि थासाङ ३ मुस्ताङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबीच इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न वि.सं. २०७७ साल चैत २५ गते ठेक्का सम्झौता भएको थियो । कार्यालय तथा व्यारेक भवनको भुइँ तलामा कार्यालय प्रयोजनको ५ वटा कोठा, शौचालय तथा महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको छ ।

यसैगरी भवनको पहिलो तलामा महिला प्रहरीको शौचालय र भ¥याङ प्रयोग गर्न मिल्ने गरी महिलामैत्री व्यारेक तथा पुरुष जुनियर प्रहरी अधिकृत, हवल्दार र प्रहरी जवानका लागि व्यारेकको व्यवस्थापन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा इन्चार्जको आवास र सञ्चार शाखाको कार्यालय सञ्चालन गरिएको छ । नवनिर्मित कार्यालय तथा व्यारेक भवनको प्रवेश विन्दुमा ¥याम्पको व्यवस्था गरी अपाङ्गमैत्री बनाइएको छ ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र मुख्यमन्त्री पाण्डेले प्रहरीको भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरु र प्रहरीलाई प्रशंसापत्रले सम्मान गरेका थिए । सोही अवसरमा मुख्यमन्त्री पाण्डे, प्रहरी नायव महानिरीक्षक सिंहसहितको टोलीबाट नवनिर्मित भवन र व्यारेकको अनुगमन समेत गरिएको थियो ।

आधुनिक सुविधासम्पन्न भवन अपाङ्गमैत्री र महिलामैत्री बनाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । समुन्द्री सतहदेखि झण्डै ३७ सय मिटरको उचाइमा रहेको इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनबाट कार्यसम्पादन सहज हुने अपेक्षा गरिएको छ ।