नेपालमा एयर ब्याडमिन्टनको सुरुवात


काठमाडौं ।

युरोपमा लोकप्रिय रहेको बिश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ को शुरुवात भएको छ । नेपाल ब्याडमिन्टन संघले बुधबार यस नयाँ खेलको प्रारम्भ गर्ने उद्देश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्‍यो ।

दक्षिण एशियामै पहिलो पटक जस्तो सुकै खुल्ला मैदानमा रमाईलो खेलको रुपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो । ‘एयर ब्याडमिन्टन’ द न्यू ब्याडमिन्टन गेम २०२४ नामाकरण गरिएको प्रदर्शन खेलमा पुरुषतर्फ १०८ र महिला तर्फ ३४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा, पुरुष युगलतर्फ लगनखेलका विलन मलान र उज्ज्वल दाहालको जोडी पहिलो भएको थियो ।

यस्तै, दोश्रो स्थानमा ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी, तेश्रो स्थानमा आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी) को जोडी रहे ।

यसैगरी, महिलातर्फ नुमा लिम्बु (नखिपोट) र नविना (एपिएफ) को जोडीले पहिलो स्थान हासिल ग¥यो । उनीहरुले फाइनलमा शर्मिला के.सी. र पार्वती राई (पिएफसी) को जोडीलाई हराएका थिए । यस्तै पीएफसीका मैया भट्टराई र सिता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र सुभेक्षा श्रेष्ठको जोडी संयुक्तरुपमा तेश्रो भए ।

चलिरहेको ब्याडमिन्टनभन्दा फरक

एयर ब्याडमिन्टन द न्यु ओपन ब्याडमिन्टन नामाकरण गरिएको ब्याडमिन्टन हाल चलिरहेको ब्याडमिन्टन खेल भन्दा केही फरक रहेको छ । यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरु सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ।
यसको मैदान र सटलकक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक रहेको छ । कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको हुन्छ । नेटबाट २ मिटरको स्थानलाइ डेड जोन मानिन्छ । उक्त स्थानमा सटलकक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाईन क्रस गरेमा फल मानिनेछ।

यस्तै, डेड जोनबाट ३ मिटर पर सर्भिस लाईन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नु पर्ने हुन्छ । यस्तै विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्न पाउँछ । खुला मैदानमा खेलाइने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटलकक बनाईएको हुन्छ ।