यूएस ओपनकै सर्वाधिक लंगेस्ट म्याच


एजेन्सी ।

ब्रिटनका डान इभान्सले शानदार कमब्याक गर्दै यूएस ओपन टेनिस च्याम्पियनसिपकै इतिहासको सबैभन्दा लंगेस्ट म्याच जितेका छन् । इभान्सले पहिलो चरणमा रसियाका कारेन खाचानोभलाई पाँच सेटमा हराउँदा ५ घण्टा ३५ मिनेट समय लागेको थियो ।

३४ वर्षीय ब्रिटिस खेलाडीले यो खेल ६–७ (६–८), ७–६ (७–२), ७–६ (७–४), ४–६, ६–४ सेटले जितेका थिए। जबकी उनी अन्तिम सेटमा ४–० ले पछि थिए । दुबैले एक अर्काको सर्भिस बे्रेक हुँदै जाँदा हरेक सेट सकिन १ घण्टा भन्दा बढी समय लागेको थियो।

यूएस ओपनमा यसअघिको सर्वाधिक लंगेस्ट म्याच सन् १९९२ मा भएको थियो। स्विडेनका स्टेफन एडबर्ग र अमेरिकाका माइकल चांगबिच भएको सेमिफाइनल खेल ५ घण्टा २६ मिनेटसम्म चलेको थियो। फाइनलमा भने एडबर्ग अमेरिकाका पिट साम्प्राससँग चार सेटमा पराजित भएका थिए।