अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला सुनाइँदै


काठमाडौं ।

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ।

बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मङ्सिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरूको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेको थियो।