रोनाल्डो भन्छन्- छिट्टै सन्न्यास लिए दुई-तीन वर्षमा अल नासरबाटै लिन्छु


काठमाडौं ।

सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले अल नासरबाटै संन्यास लिने बताएका छन्। ३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दै आफूले केही वर्षमा संन्यास लिने बताउँदै रोनाल्डोले सम्भवतः आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन्।

रोनाल्डोले आफू अल नासरमा खुसी रहेको बताउँदै साउदी लिग र देश दुवैमा आफू खुसीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन्। रोनाल्डोले भनेका छन्- ‘मलाई थाहा छैन मैले कहिले संन्यास लिन्छु। त्यो छिट्टै, दुई-तीन बर्सपछि पनि हुन सक्छ। तर यो अल नासरमै हुनसक्छ। यो टिमसँग म अहिले खुसी छु। म लिग र देश दुवैसँग अहिले खुसी छु। त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु।’ साथै रोनाल्डोले आफू भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन्।

रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफूले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्- मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन।’ साथै रोनाल्डोले आफूले भविष्यमा फुटबल भन्दा बाहिर नै केही गर्ने बताएका छन्।

२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजिते पनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन्।  उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन्।