पलेशा र भरतको प्रतिद्वन्द्वी तय


काठमाडौं ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबर्द्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ। मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए।

पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासंग खेल्ने छन् । उनको स्पर्धा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि जम्मा १२ खेलाडी छन् । भरत वाइल्ड कार्ड मार्फत छनोट भएका हुन् ।
के– ४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेशाले भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध अगष्ट ३० तारिखमा खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । पारालिम्पिकको उद्घाटन समारोह बुधबार हुनेछ ।