एन्फाको बैठक बिहीबार फेरि बस्ने


—१४ एजेन्डामा छलफल
—राष्ट्रिय टिमका प्रशिक्षकको म्याद नथपिने
—दशरथ रंगशालामा कृत्रिम घाँस राखिने

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक बिहीवार बस्ने गरी मंगलवार स्थगित भएको छ। विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकले १४ वटा एजेन्डामा छलफल गरेर स्थगित भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराएका हुन्।

एन्फा कार्यसमितिले नेपाली राष्ट्रिय फुटबल टिमका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । सन् २०२३ को मार्चमा राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका अनेसेको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । जसमा ५ जित, ४ बराबरी र १० हार रहेको छ ।

एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । यसका लागि एन्फाले अनेसेले पनि खुला प्रतिस्पर्धाबाट आउने विकल्प भने राखेको छ । नेपालले अब अधिकारिक खेलको रुपमा मार्च २०२५ मा हुने एसियन कप छनोट खेल्नेछ । त्यसअघि अक्टोबर र नोभेम्बर विन्डोमा भने नेपालको कुनै खेल छैन ।

यस्तै, एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घाँसे मैदान हटाएर कृत्रिम घाँस राख्न प्रस्ताव गर्ने भएको छ । पछिल्लो समय मैदानको कमजोर अवस्थाका कारण एन्फाले यसपटक फिफाको सहयोगमा ३ लाख अमेरिकी डलर खर्च गरेर दशरथ रंगशालामा कृत्रिम घाँस अर्थात आर्टिफिसियल टर्फ राख्ने तयारी गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वामित्वमा रहेको रंगशालामा घाँस परिवर्तन गर्न एन्फाले अब प्रस्ताव लग्नेछ। राखेपले सहमति जनाएको खण्डमा एन्फाले फिफाको सहयोगमार्फत टर्फ राख्ने निर्णय गरेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा रहेको टर्फ पनि परिवर्तन गरिने भएको छ। एन्फाको मैदानमा नयाँ टर्फ राखेर त्यहाँ रहेको पुरानो टर्फ भने लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा सारिने भएको छ।

त्यस्तै एन्फाले गोदावरीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फुटबल मैदान, कैलाली, सर्लाही लगायत अन्य स्थानमा पनि कृत्रिम घाँसे मैदान निर्माणका लागि बजेट छुट्याउने निर्णय गरेको छ ।

महासचिवको तलब २ हजार डलर

एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्‍याउन प्रस्ताव गरिएको छ। एन्फाको कार्यसमिति बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङले महासचिवको तलब वृद्धि गर्न प्रस्ताव राखेका हुन् । हाल महासचिव राईले मासिक १ लाख २० हजार रुपैयाँ तलब लिँदै आएका हुन् । यदि २ हजार डलर भएमा यो नेपाली रकम करिब २ लाख ६७ हजार ९०० सय रुपियाँ हुन आउँछ ।

यसैगरी बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब मासिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। सो निर्णय भने सर्वसम्मतले पारित भएको छ। यसअघि राष्ट्रिय खेलाडीको तलब मासिक १८ हजार नगद रहेको हो। यस पटक खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिने पनि जनाएको छ।