नेपाल उपाधि जित्ने दाउमा


काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिपको फाइनल आज हुँदैछ। एन्फा मैदानमा हुने फाइनलमा नेपालको सामना बंगलादेशविरुद्ध हुनेछ। नेपालले यो प्रतियोगिताको शुरुवाती दुई संस्करणमा उपाधि जितेको थियो।

यसपछि भारतले एकछत्र राज चलायो। तर, बंगलादेशले यसपटक सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गरेर वर्चश्व समाप्त पारेको हो। बंगलादेशले यो उमेर समूहको उपाधि जित्न सकेको छैन। नेपालले समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

शेड्युल निकाल्दा फाइनलबाहेक सबै खेल एन्फा मैदानमा गरिने निर्णय भएको थियो । तर, फाइनल अहिले एन्फा मैदानमै संचालन गर्न लागेको छ।

एन्फाले सामाजिक सञ्जालमार्फत लगातारको वर्षाका कारण दशरथ रंगशालामा खेल गराउन नमिल्ने भन्दै एन्फामा नै खेल हुने जानकारी गराएको थियो। यसअघि हिलाम्य मैदानमा एएफसी च्यालेन्ज लिगको खेल खेलाएर एन्फा आलोचित भएको थियो।