व्रत बस्दा के हुन्छ ?

0
Shares

विगतमा धर्मका खातिर व्रत बस्थे भने अहिले स्वस्थताका लागि फास्टिङ वा डाइटिङका नामले व्रत बस्ने धेरै छन् । अहिले समय–समयमा व्रत बस्नु स्वस्थ रहने अचुक उपाय साबित भइसकेको छ ।

जापानका डा. योसिनोरी असुमीले लामो अनुसन्धानपछि लगातार १६ घण्टा भोकै बस्दा मानवकोषमा हुने फोहोर सफा हुने कुरा चर्चामा ल्याए । साथै उनले यसबाट क्यान्सरसमेत निको हुन सक्ने बताए । त्यसैले अहिले नेपालमा समेत १६ घण्टे फास्टिङ भनेर धेरैले पानीबाहेक केही नखाई बस्ने गरेको पाइन्छ ।

हामीले जथाभावी पेट टन्न हुने गरी खाँदा शरीरमा अनावश्यक पदार्थ जम्मा हुन थाल्छ । रगतमा जम्मा भएका यस्ता पदार्थ अधिक हुँदै जाँदा शरीरबाट निष्कासन हुन सकिरहेको हुँदैन, जुन टक्सिनको रूपमा रहेर शारीरिक स्वास्थ्यमा नराम्रो असर पु¥याउन थाल्छ । व्रत बस्नाले यस्ता पदार्थ जम्मा हुन त पाएन नै, त्यसमाथि जम्मा भएको टक्सिन पनि बिस्तारै निष्कासन हुने मौका मिल्छ ।

व्रत बस्दाका फाइदा:
डाइटिङमा बसेको अवस्थामा शरीरले खानाबाट शक्ति प्राप्त गर्ने कुरा आउँदैन । त्यस अवस्थामा शरीरमा कसरी इनर्जी सन्तुलन होला त ? प्रश्न गम्भीर छ । पोषण विज्ञ प्रा.डा. जया प्रधानले आफ्नो पुस्तक ‘जीवनशैली र पोषण’ नामक पुस्तकमा उल्लेख गरेअनुसार लामो समय खाना नखाँदा शरीरमा जम्मा भइरहेको ग्लाइकोजिन (चिनीको संरक्षित रूप) टुक्रिएर ग्लुकोजमा परिणत भई शक्ति दिने काम गर्दछ । साथै कोष–तन्तुमा जम्मा भएर रहेको प्रोटिन पनि शक्ति दिनको लागि खर्च हुन्छ ।


उहाँले उल्लेख गर्नुभएको छ, ‘स्वस्थ व्यक्तिले हप्ताको एकदिन ठीक मात्रामा पानी पिउनुको साथै केही फलफूल खाई उपवास बस्नाले शरीरमा जम्मा भएका अनावश्यक पदार्थहरू बाहिर फ्याँकी शरीर स्वस्थ राख्ने अध्ययनले देखाएको छ ।’
यसै गरी महिनाको एकपटक पानी तथा फलफूल खाई उपवास बस्दा मुटुसम्बन्धी रोग झन्डै ५८ प्रतिशतले कम हुन सक्ने तथा शरीरको तौल ठीक राख्न अनि प्यान्क्रियाजबाट इन्सुलिन हर्मोनको उत्पादनमा मद्दत पु¥याई मधुमेहको सम्भावनालाई पनि कम गर्न सकिने कुरा डा. प्रधानले उल्लेख गर्नुभएको छ ।

उपवास बसेको लगत्तै चाहिनेभन्दा बढी क्यालोरी खानाबाट लिइरहेको अवस्थामा भने शक्तिको सन्तुलन हुन नसक्ने कुरामा उहाँले जोड दिनुभएको छ । अर्को कुरा, शरीर स्लीम बनाउने नाममा खाना धेरै घटाएमा किटोएसिड नामक हानिकारक पदार्थ पैदा भई रगतमा अम्लीयपन बढ्ने, श्वासमा दुर्गन्ध आउने, थाक्ने, शरीरको कार्यमा असन्तुलन भई मिर्गौला तथा कलेजोको कार्यमा समेत गडबडी हुन सक्छ ।

यसबाट व्रत बस्नु उत्तम हो तर जथाभावी लामो समय नखाई बस्नु भने हानिकारक हुने बुझ्न कठिन छैन । अर्को महत्वपूर्ण कुरा के भने, हामी बिरामी प¥यौँ भने खाना खान मन लाग्दैन । यस्तो समयमा प्राकृतिकरूपमै शरीरले सुधारको प्रयत्न गरेको हुन्छ । उपवासको बेला शरीरले झनै बढी सन्तुलित सक्रियता देखाउन खोज्छ ।

शरीरमा बोसोको रूपमा सञ्चित पदार्थलाई उपवास बसेको समयमा शरीरले ऊर्जाको रूपमा प्रयोग गर्छ । यसले गर्दा शरीरको अनावश्यक तौल घट्नसमेत मद्दत पुग्छ । व्रत बस्दा शारीरिक र मानसिक स्वास्थ्यमा समेत सुधार हुन्छ । हप्तामा एकदिन उपवास बसेर शरीरको तौल घटाउन खोज्नु राम्रो हो तर तौल घटाउने नाममा लामो समय खाना नै नखाई बस्नुचाहिँ शरीरलाई अस्वस्थ बनाउनु हो ।