प्रिमियर लिगमा पहिले भन्दा कम लगानी


एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लबहरुद्वारा ट्रान्सफर खर्च यस समर सिजन अन्तिम सातामा पुग्दासम्म गत सिजनको भन्दा ८०० मिलियन पाउन्ड कम भएको छ। २०२३ मा २.३ बिलियन पाउन्ड खर्च गरेकोमा अहिले हालसम्म १.५ बिलियन खर्च गरिएको छ।

समग्रमा कूल खर्चमा भने प्रिमियर लिग अरु शीर्ष चार युरोपियन लिगभन्दा अगाडि नै छ। इटालीको सिरी ए ले ६१७ मिलियन पाउन्ड खर्च गरेको छ। यस्तै, फ्रान्सको लिग वानले ५२९ मिलियन, स्पेनको ला लिगाले ४३५ मिलियन र जर्मनीको बुन्डेसलिगाले ४६२ मिलियन पाउन्ड खर्च गरेका छन्।

प्रिमियर लिग क्लबहरुले जनवरी ट्रान्सफर विन्डो २०२४ मा १०० मिलियन पाउन्ड खर्च गरे। यो २०१२ जनवरीको भन्दा कम रकम हो। त्यतिबेला ६० मिलियन पाउन्ड खर्च गरिएको थियो। यसपछि कोभिड महामारीको कारण २०२१ जनवरीमा ७० मिलियन पाउन्ड खर्च गरिएको थियो।

कुन क्लब कति सक्रिय

प्रिमियर लिगमा खेलाडी आबद्ध गर्नेमा साउथाम्पटन सबैभन्दा अघि रहेको छ। साउथाम्पटनले १३ खेलाडी आबद्ध गरिसकेको छ। अहिलेसम्म एक खेलाडी पनि अनुबन्ध नगर्नेमा लिभरपुल रहेको छ भने चेल्सी सर्वाधिक लगानी गर्ने क्लब बनेको छ।
चेल्सीले अहिलेसम्म २०४ मिलियन पाउन्ड खर्च गरिसकेको छ। यो अझ अघिल्ला सिजनको भन्दा कम हो । चेल्सीले २०२२ मा २४८ मिलियन र २०२३ मा ३९३ मिलियन पाउन्ड खर्च गरेको थियो ।

यस सिजनमा सर्वाधिक मूल्य रकममा पेद्रो नेटो (५४ मिलियन), जोआयो फेलिक्स (४५ मिलियन) र किमान दीउजबरी हल (३० मिलियन) गरी तीन खेलाडी अनुबन्ध गरिएको हो। चेल्सी अहिले राहीम स्टर्लिङ, रोमेलु लुकाकु, ट्रेभोह चालोबाह र सेसार कासाडेइलाई अनुबन्ध गर्न ताकेता गरिरहेको छ।

चेल्सीपछि एस्टन भिल्लाले सर्वाधिक रकम खर्च गरेको छ । एस्टन भिल्लाले अहिलेसम्म १४९ मिलियन पाउन्ड खर्च गरिसकेको छ। हाल अनुबन्ध गरेका खेलाडीमा एमाडोउ ओनाना (५० मिलियन) र आयन मात्सेन (३५ मिलियन) रहेका छन् ।

तेस्रो नम्बरमा ब्राइटन रहेको छ । ब्राइटनले १४४ मिलियन पाउन्ड खर्च गरेको छ भने चौथो नम्बरमा म्यानचेस्टर यूनाइटेड रहेको छ । यूनाइटेडले १४० मिलियन पाउन्ड खर्च गरेको छ ।

यस सिजनको नतिजा
पछिल्ला सिजनमा झैं यस सिजनमा पनि पुरानै तीन क्लबहरुले शानदार प्रदर्शन गरेका छन् । दुई चरणका खेल समाप्तिमा म्यानचेस्टर सिटी, लिभरपुल र आर्सेनलले दुबै खेल जितेका छन्। पछिल्ला सिजनमा यी तीनै क्लबहरुबीच उपाधि होड भएको थियो। यसपटक पनि शुरुआतले यस्तै हुने देखाएको छ। यस्तै, ब्राइटनले पनि दुबै खेल जितेको छ।

चेल्सी र म्यानचेस्टर यूनाइटेडको शुरुवात भने राम्रो भएन । दुबै टिमले एकमा जित र एकमा हार बेहोरेका छन् । दुबै खेल हार्नेमा साउथाम्पटन, क्रिस्टल प्यालेस, इप्सवीच टाउन, वोल्भ र एभर्टन रहेका छन् ।