पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

376
Shares

पाल्पा ।

वीरताको प्रतीकको रूपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा आज मंगलबार तानसेनमा निकालिँदै छ ।  यस क्षेत्रमा भगवती जात्राको रूपमा परिचित रथयात्रालाई विजयको खुसीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रूपमा चिनिन्छ ।

नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धूमधामका साथ विजय उत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिस सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा यस वर्ष २ सय ५ वर्ष संस्करणको रूपमा यस वर्षको भगवती जात्रा निकालिँदै छ। 

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रूपमा परिचित   भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिले सम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको हो ।

अंग्रेजसँगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष विजय जात्रा सञ्चालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ  । राष्ट्रको जित भएको अवसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रूपमा पनि लिइन्छ।

जात्राको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। जात्रामा जिल्लाका विशिष्ट व्यक्ति,बुद्धिजीवी, व्यापारी, शिक्षक, विद्यार्थी लगायत छिमेकी जिल्लाका मानिसहरूको समेत उपस्थिति र सहभागिता रहन्छ । 

राष्ट्रपति आउने , चिटिक्क पारियो विजयोत्सव भगवती रथयात्रा स्थल 

विजयोत्सवमा सहभागी हुन यस पटक राष्ट्रपति रामचन्द्र पौडेल सहित विशिष्ट व्यक्तिहरू पाल्पा आउने भएका छन् । जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ। 

भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित सङ्घीय सांसदको जात्रामा सहभागिता रहने छ। राष्ट्रपति आउने भएपछि तानसेनको  सुरक्षा व्यवस्था चुस्त बनाइएको छ  

विजयोत्सवको भगवती रथलाई भदौ ११ गते मंगलबार १२:४५ बजेको शुभ साइतमा उठाइने र दिनभरि तानसेन बजार घुमाउने बेलुका ६ बजे भित्र विसर्जन गर्ने कार्यक्रम रहेको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ।  राष्ट्रपति बिहान ११ बजे तानसेन आइपुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए। 

यस अघि सोमवार राती जाग्राम बस्ने र अन्य धार्मिक क्रियाकलपाहरु सम्पन्न भएका छन् । भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन दिउँसोस्थानीय भगवती मन्दिरदेखि रथयात्रा सुरु  गर्ने गरिन्छ ।  रथयात्रा निकालेपछि तीनपटक मन्दिरको परिक्रममा गर्ने , मानिसकले वोकेरे रथलाई निश्चित रुट अनुसार परिक्रमा गराउने गरिन्छ ।  तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ  मन्दिरमै विसर्जन गर्ने परम्परा  छ। रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरू उल्लासमय वातावरणमा जात्रामा सहभागी हुन्छन्। 

जात्रा हेर्नकै लागि भनेर मंगलबार पाल्पा जिल्ला र छिमेकी जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी हुने गरेका छन्। विजय उत्सवलाई व्यापक जनसहभागिता जुटाउन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट दिइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि र श्रीनगर यातायात प्राली तानसेनको विजय उत्सव भगवती रथ यात्रामा सहभागी हुने यात्रुहरूका लागि आउने जाने यात्रुहरूका लागि ५० प्रतिशत छुट गरेको हो। श्रीनगर यातायात सेवा प्रालिले ग्रामीण क्षेत्र तथा जुनसुकै स्थानबाट पनि तानसेन यात्रा गर्ने यात्रुहरूका लागि १० प्रतिशत भाडा छुट सुविधा प्रदान गरिएको कार्यालय प्रमुख भविन्द्र गौतमले बताए।

त्यस्तैगरी विजयोत्सव भगवती रथयात्राको अवसरमा सहभागी हुने पर्यटकहरूका लागि पाल्पाली होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घले खाना नास्तामा १५ प्रतिशत र बास बस्न २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। विजयोत्सव भगवती रथ यात्रामा सबै पक्षको सहभागिता बढाउन लुम्बिनी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयले पाल्पामा मनाइने विजयोत्सव भगवती रथ यात्रा राष्ट्रियता जगेर्ना गर्ने राष्ट्रिय दिवस भएकोले विगत केही वर्षदेखि नै सार्वजनिक बिदा दिँदै आएको छ।