एकीकृत समाजवादीमा पदाधिकारीको निर्वाचन आज


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन  निर्वाचनबाट गर्ने भएको छ। आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो। बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो।

आज बिहान ७ बजे मनोनयन पत्र वितरण हुने, ७: ३० देखि ८: ३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ।

त्यस्तै दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगणना सुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ। एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ।