रास्वपाको बैठक आज, मुकुलमाथि कारबाहीदेखि छाया सरकारसम्मको एजेन्डा


काठमाडौं ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्दै छ। पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा अनुशासनात्मक कारबाहीदेखि स्थानीय छाया सरकार कार्यविधिका विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

‘मंगलबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारबाही, स्थानीय छाया सरकार कार्यविधि र विविध विषय गरी पाँच एजेन्डा राखिएको छ’ –झाले भन्नुभयो । अनुशासनात्मक कारबाहीअन्तर्गत रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने योजनामा छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने एक नेताले नेपाल समाचारपत्रलाई बताए ।

पार्टी अनुशासन र आचरणविपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उहाँलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने, उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याललगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बाल्नुभएको थियो। त्यी सबै विषयले पार्टीलाई हानि गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उहाँलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो ।

त्यसपश्चात् रास्वपाले उहाँलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णयमा पुगेको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताउनुभयो।

‘बैठकअगावै निर्णय यहीँ भन्न मिल्दैन । तर, अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको छ । हामीले विधानअनुसार सबै प्रक्रिया र अवसर उहाँलाई दिएका छौँ’, उहाँले भन्नुभयो– ‘के कसरी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्छ।’

पार्टीका अधिकांश नेता कार्याकर्ताहरूबाट ढकाललाई पार्टीबाट हटाउनु नै उचित भएको सुझावहरू आएको नेताहरूले बताएका छन्। छाया सरकारका सन्दर्भमा खास गरी स्थानीय तहमा हुनेगरेका भ्रष्टाचारजन्य गतिविधिमाथि खबरदारी गर्न स्थानीय तहस्तरिय छाया सरकारको परिकल्पना गरिएको र उक्त विषयमा छलफलबाटै निष्कर्ष निकाल्ने रास्वपाले जनाएको छ।