नुन बार्नुको वैज्ञानिक रहस्य

0
Shares

हाम्रा पुर्खाले व्रत बस्दा वा आफन्तको मृत्यु हुँदा नुन खानुहुँदैन भनेर कडाइका साथ लागू त गरे, तर किन खानुहुँदैन भनेर वैज्ञानिक तर्क प्रस्तुत गर्न सकेनन् । यसरी विनातर्क पाप–पुण्यसँग जोडेर मात्रै अब कोही मान्नेवाला छैनन् । त्यसैले यस्ता मान्यताहरूमा वैज्ञानिक विवेचना हुनु जरुरी छ ।

नुन स्वादका लागि खाइँदै आएको नुनिलो पदार्थ हो । सामान्यतया हामीले खाने गरेको नुनको स्रोत समुद्र वा नुनिलो ताल हो । यस नुनमा सोडियमको मात्रा बढी हुने भएकाले यसको अधिक सेवन हानिकारक हुन्छ । यसले उच्च रक्तचाप निम्त्याउन सक्छ। त्यसैले डाक्टरहरूले समुद्री नुनको सेवन कम गर्न सल्लाह दिन्छन् ।

नुन दैनिक ५ ग्रामसम्म खानु उचित हुन्छ । शरीरका लागि यो आवश्यक पनि छ । तर नेपालमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा एक नेपालीले दैनिक सरदर ११ ग्राम नुन खाने गरेको पाइयो । शायद नुनको मात्रा बढी खाने गरेकाले होला, धेरै नेपालीलाई उच्च रक्तचाप भएको हुन सक्छ ।

नुन सुषुप्त हत्यारा हो । नुनलाई ‘सेतो विष’ समेत भन्ने गरिन्छ । त्यसैले जुठो परेको वा व्रत बसेको समयमा नुन बार्ने गरेमा केही हदसम्म शरीरमा नुनको मात्रा सन्तुलन हुन सहयोग पुग्छ । स्वस्थ रहनका लागि नै यसरी व्रत वा जुठो परेको बेला नुन खानुहुँदैन भनिएको हो भन्ने बुझ्न गाह्रो छैन ।

सिधे नुनचाहिँ किन छुट ?

पहाडको खानीबाट निकालेको सिधे नुनको सेवनलाई चाहिँ नुन नखाई नसक्नेहरुका लागि शास्त्रले छुट दिएको छ । यता वैज्ञानिक दृष्टिले हेर्दा पनि समुद्री नुनको तुलनामा सिधे नुनमा सोडियमको मात्रा एक तिहाइ कम हुन्छ । यसले समुद्री नुनको जस्तो स्वास्थ्यमा नकारात्मक असर नगर्ने भएर नै हाम्रा पुर्खाहरूले जुठो बार्दा वा व्रत बस्दा खान हुने परम्परा बसालेका हुन् । आयुर्वेदमा पनि यस नुनलाई गुणकारी मानिएको छ । यसले कफसम्बन्धी दोषमा लाभ मिल्छ ।
सिधे नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापको समस्या निम्त्याउने सम्भावना हुँदैन । यस नुनमा अन्य नुनको तुलनामा खनिज तत्व धेरै (८४ किसिमको) पाइने हुँदा स्वास्थ्यवद्र्धक मानिएको हो । सिधे नुनमा पाइने मिनरल्सले विभिन्न रोगबाट बचाउने काम गर्छ । यो नुनले पाचनरस निर्माण गर्छ, जसले गर्दा राम्रोसँग पाचन हुन मद्दत पुग्छ । यस नुनको गन्ध पनि हुँदैन । यी सबै कारणले सिधे नुनलाई शुद्ध मानिएको हो । त्यसैले व्रत एवं जुठो बारेको बेलामा खान हुन्छ भन्ने मान्यताको विकास भएको हो ।

फ्रिजेनियस इन्स्टिच्युट, बेलायतले गरेको अध्ययनले सिधे नुनमा भएको तत्वले शरीरमा पानीको सन्तुलन कायम राख्ने, पाचन तथा पोषणको शोषण गर्ने कार्यमा मद्दत गर्ने, मांसपेशी बाउँडिन नदिने, रक्तचाप नियन्त्रणमा राख्ने, बुढ्यौली हुनबाट बचाउनेजस्ता कार्य गर्ने देखाएको छ ।
साधारण नुन र सिधे नुनमा फरक :

-सिधे नुन सीधै चट्टानबाट प्राप्त हुन्छ तर साधारण नुन नुनिलो समुद्र वा तालको पानीलाई वाष्पीकरण गरेपछि प्राप्त हुन्छ ।

-सिधे नुनको क्रिस्टल एकदम सुख्खा हुन्छ भने साधारण नुनमा ओस (मोइस्चर) हुन्छ ।

-सिधे नुनले भोजनबाट मोइस्चर अवशोषण गर्छ तर साधारण नुन शरीरमा समाहित हुन केही समय लाग्छ ।

-सिधे नुनले मोइस्चर अवशोषण गर्ने हुँदा तुरुन्तै पग्लन्छ तर साधारण नुनले चाँडो अवशोषण गर्न नसक्ने हु्ँदा छिटो पग्लँदैन ।

-सिधे नुन उच्च रक्तचापमा लाभकारी हुन्छ भने साधारण नुन हानिकारक हुन्छ ।

-सिधे नुनले शरीरमा पानीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ भने साधारण नुनले शरीरमा निर्जलीकरण (डिहाइड्रेट) गर्छ ।

-धार्मिक मान्यताअनुसार जुठो पर्दा वा व्रतमा सिधे नुन खान सकिन्छ तर साधारण नुनलाई वर्जित गरिएको छ ।