महिनाभरि गुञ्जने नौ बाजामा युवा पुस्ताको आकर्षण बढ्दो

0
Shares

गुँलापर्व अवधिभर बजाइने नौ बाजामा बालबालिका र युवा पुस्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। गीत, संगीतमा युवापुस्ताको सहज र स्वाभाविक रुचिले गर्दा अहिले नौ बाजा बजाउनेमा बालबालिका र किशोरकिशोरीको उल्लेख्य उपस्थिति रहेको हो।

यो पर्व श्रावण शुल्क प्रतिपदाको दिनदेखि श्रावण कृष्ण औंसीसम्म सञ्चालन हुने गर्दछ। यो पर्व विशेषगरी काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा मनाइने गरिन्छ। काठमाडौँमा भने यस पर्वको अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिनासम्म स्नान गरी परम्परागत नौ बाजा बजाएर स्वयम्भू, महाचैत्य, सेतो मच्छिन्द्रनाथ र विभिन्न महाविहार चैत्य दर्शन गर्ने र आसपासका स्थलको परिक्रमा गर्ने चलन छ। गुँला पर्वको सुरुआतसंगै ललितपुरमा परम्परागत नौ बाजाको प्रदर्शनी भइरहेको छ। न्यकूजात्रा मतयाः (श्रृङगमेरी–दीपयात्रा)को सन्र्दभमा नौं बाजाको प्रदर्शनी सञ्चालन भइरहेको हो। करिब १ हजार ४ सय ५० वर्षअगाडि देखि ललितपुरमा निरन्तर रूपमा संचालन भइरहेको पर्वको सेरोफेरोमा नौ बाजा प्रदर्शनी भइरहेको हो। यसवर्षको मतयाः पर्व पालो परेको टोल नकबही टोलबाट बाजा प्रदर्शनी सुरुआत गरिएको छ । नकबही टोलका दश वर्षका बाल कलाकारदेखि ६० वर्षसम्मका सयौं कलाकारले ती परम्परागत बाजाको विशेष प्रदर्शन गरेका थिए ।

यस महिनामा पर्ने पर्वमा दमोखी, धा धिमे, कोचाखीलगायत नौ बाजा बजाउने भएकाले यसलाई नौं बाजाको जीवन्त र खुल्ला प्रदर्शनी गरिने मेलाको रूपमा लिने प्रचलन छ। नौ बाजाको रूपमा प्रख्यात भएता पनि त्यस समूहमा १८ वटा परम्परागत बाजाको प्रदर्शनी हुने गर्दछ ।

१ धाबाजा : यो काठभित्र खोक्रो पारी बनाइएको हुन्छ र त्यसको दुवैतिर छालाले मोडी छालाकै तानले कसेर बनाइएको हुन्छ। यसलाई बजाउँदा देब्र हातले धाकथि भन्ने लौरोले बजाई दाहिनेतिर भने हातले मात्र बजाइन्छ।

२ धिमेबाजा : धिमेबाजा पनि धाबाजा जसरी बनाइएको हुन्छ। यसको विशेषता के छ भने यसमा धाबाजामा जस्तै देब्रहात लौरौ लिएर नबजाइ दाहिने हातले टुप्पामा घुंघुरिएको ताख्वर भन्ने लठ्ठीले र बायाँतर्फ बायाँ हातले बजाइन्छ।

३ डमःखिं : यो बाजा पनि धा र धिमेबाजा जसरी बनाइएको हुन्छ। बजाउने बेलामा त्यमाथि गहुँको पिठो मुछेर दुवै हातले बजाउने गरिन्छ।

४. मृदङ : यसमा काठलाई सानो र ठूलो चक्का पारी दुवैतिर छालाले मोडेर छालाकै तानले कसेर र दाहिनेतिरको छालामा खरी राखेर बनाइएको हुन्छ।

५. नायखिं : यो पनि धा र धिमेबाजा जसरी बनाइएको हुन्छ।

६.ढोलक : यो बाजा पनि धाःधिमै झै काठलाई खोक्रो पारी दुवैतर्फ छालाकै तानले कसेर बनाइएको हुन्छ। यो बाजा प्रायः जोगी, कपाली कुसलेहरूले बजाउँछन् भने हरि कीर्तनमा र किसानहरूको यात्रा भजनमा खिंबाजाको साथै ढोलकलाई पनि आलोपालो गरी बजाउने गरिन्छ।

७. डमरु : यो बाजालाई पनि काठको दुवैतिर मुख चाक्लो पारी बीचमा साँघुरो तुल्याई दुवैतिर छालाले मोडी छालाकै तानले अड्याई बीचमा राखेको हुन्छ। पूजाआजाका बेला एक हातले डमरु बजाई अर्को हातले घण्ट बजाएर सुरिलो स्वरमा गीत वा स्त्रोतहरु पाठ गर्ने गर्छन्।

८. कोचाखिं यो पनि धिमे बाजाजस्तै बनाइएको हुन्छ। यो बाजा एउटै हातले मात्र बजाइन्छ।

९. नगरा : यो बाजा प्रायः तामाबाट बनाइएको र यसलाई छालाले मोडी छालाकै तानले कसेर बनाइएको हुन्छ। यो बाजा विशेषगरी देवीदेवताको पूजा गर्दा र पश्चिम पहाडमा बजाउने गरिन्छ।