किशोरकिशोरीमा देखिने रक्तअल्पता

0
Shares

खानपान र जीवनशैली परिवर्तनका कारण अहिलेका किशोरकिशोरीमा रक्तअल्पताको समस्या निकै देखिने गरेको चिकित्सक बताउँछन् । घरमा बनाएका र प्राकृतिक खानामा भन्दा किशोरकिशोरीमा बजारिया खाना तथा जंक फुडप्रति बढी आकर्षण भएकाले उनीहरूमा पोषणको कमी हुने र रक्तअल्पतालगायत समस्या देखिने गरेका छन् ।

सन्तुलित आहारको अभाव, जंकफुड तथा फास्ट फुडको अत्यधिक सेवन र हरियो सागसब्जी कम खानाले पनि रक्तअल्पताको समस्या हुन्छ । रक्तअल्पता भनेको शरीरमा हेमोग्लोविनको कमी हुनु हो, जसले गर्दा शरीरमा अक्सिजनको आपूर्ति प्रभावकारीरूपमा हुन सक्दैन । यसले थकान, कमजोरी र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । किशोरकिशोरीहरूको शारीरिक र मानसिक विकासका लागि पर्याप्त मात्रामा पोषण र रगतको आवश्यकता पर्छ ।

किशोरकिशोरीहरूका लागि आइरनको पनि आवश्यकता धेरै हुन्छ, विशेषगरी किशोरीहरूमा महिनावारी शुरू हुने समयमा आइरनको कमी हुँदा हेमोग्लोविन उत्पादनमा कमी आउँछ, जसले रक्तअल्पता निम्त्याउँछ । फोलिक एसिड पनि रगत निर्माणमा महत्वपूर्ण हुने भएकाले यसको कमी हुँदा पनि रक्तअल्पता हुन सक्छ । त्यसैले किशोरकिशोरीहरूको आहारमा फोलिक एसिडयुक्त खानेकुरा पर्याप्त मात्रामा नभएमा यो समस्या आउन सक्छ ।

यस्तैगरी, भिटामिन बी १२ पनि हेमोग्लोविन उत्पादनमा आवश्यक हुने भएकाले यसको कमी हुँदा पनि रक्तअल्पता हुन्छ । किशोरीहरूको महिनावारीमा अत्यधिक रक्तश्राव हुँदा पनि रक्तअल्पता हुन सक्छ र यसले शरीरमा आइरनको कमी गराउँछ ।
रक्तअल्पतालको समस्या भयो भने छिटै थाकाइ लाग्ने र कमजोरी हुने हुन्छ । किशोरकिशोरीहरू सामान्य काम गर्दा पनि चाँडै थाक्ने, धेरै सुत्न चाहने र शारीरिकरूपमा कमजोर हुने गर्छन् ।

यसका साथै रक्तअल्पता हुँदा हेमोग्लोविनको कमीले छालामा पहेँलोपन देखा पर्न सक्छ । रक्तअल्पता हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुने भएकाले सामान्य काम गर्दा पनि सास फेर्न गाह्रो हुने, ध्यानकेन्द्रित गर्न कठिन पर्ने र मुटुको धड्कन बढ्ने समस्या आउन सक्छन् ।

यस्तो समस्या आएमा आइरनयुक्त खानेकुरा जस्तोः हरियो सागसब्जी रातो मासु, कलेजो, माछा, मासु अण्डा आदि खान सकिन्छ । यस्तै, गरेर बदाम, काजु किसमिसका साथै फोलिक एसिड पाइने खाने कुरा, फलफूल, दुग्धजन्य बस्तु, भिटामिन सी, भिटामिन बी १२ पाइने खानेकुरा आदि खानुपर्छ । समस्या जटिल भएको अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।