मेसी नहुँदा टिकट बिकेन

6.86k
Shares

काठमाडौं ।

अर्जेन्टीनी स्टार लियोनेल मेसी टिममा हुँदा र नहुँदा कति फरक पर्छ भनेर अमेरिकन मेजर लिग सकर (एमएलएस) मा न्यून दर्शक उपस्थिति संख्या, टिकटमा भारी छुट र घट्दो टिकट बिक्री दरको तथ्यांकबाट स्पष्ट हुन्छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार पछिल्ला ११ खेलमा मेसी अनुपस्थित हुँदा एमएलएसको टिकट बिक्री दर ह्वात्तै घटेको छ।

गत सिजन मेसी फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिका आएपछि एमएलएसको टिकट बिक्री दर अकासिएको थियो । सन् २०२२ को फिफा विश्वकप विजेता टोली अर्जेन्टिनाको कप्तान मेसीको आगमनले गर्दा टिकट बिक्री दर उकालो लाग्दा उनी आबद्ध इन्टर मायमीको खेलमा स्टेडियम भरिभराउ हुन्थ्यो । मेसीले खेल्ने खेलको टिकट त झन अग्रिम रुपमा बुक नै हुन्थे ।

मेसीको पहिलो सिजन इन्टर मायमीको खेलका लागि स्टेडियम प्रवेशका लागि टिकटै नपाउने अवस्था समेत सिर्जना भएका थिए। मायमीको घरेलु मैदान चेज स्टेडियमको नियमित सिजनको बाँकी लगभग सबै खेलको टिकट बिक्री भएको थियो र टिकटको मागका कारणले पुनः बिक्री मूल्य पनि अत्यधिक उच्चस्तरमा पुगेको थियो । तर, जारी सिजन भने मेसीको अनुपस्थितिले एमएलएस टिकट बिक्रीमा उल्लेखनीय प्रतिकूल प्रभाव पारेको छ । मेसीको अनुपस्थितिमा मायमीले जोर्डी अल्बा, सर्जियो बुस्केट्स र लुइस सुआरेज जस्ता अन्य स्टार खेलाडीहरुलाई मैदान उतारे पनि टिकट बिक्री दर निरन्तर ओरालो लागिरहेको रिपोर्ट सार्वजनिक भएको छ । यतिसम्म की अहिले एमएलएसमा आबद्ध रहेको क्लब सिकागो फायरले त ३० डलरको छुटमा आफ्ना टिकटहरु बिक्रिमा राख्नुपरेको छ।

मेसी तत्काल मैदानमा फर्किने सम्भावना पनि छैन। यसले गर्दा एमएलएसले ठूलो घाटा बेहोर्नु परेको देखिन्छ। मेसीको अनुपस्थितिले क्लबलाई पनि निकै अप्ठ्यारो परिरहेको छ। किनकी उनीबिनाको मायमी हालैमात्र लिग्स कपको अन्तिम १६ बाटै बाहिरियो । यसैबाट यसपटक एमएलएस जित्ने दाउमा रहेको मायमीलाई मेसीको अभाव के–कति खट्कीरहेको भनेर अनुमान लगाउन सकिन्छ।

मेसी गत जुलाईमा फ्लोरिडामा सम्पन्न भएको कोपा अमेरिकाको फाइनलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि लगालग दोस्रो पटक जितेको थियो । कीर्तिमानी रुपमा आठ पटक ‘ब्यालोन डी ओर’ का विजेता मेसी कोपा अमेरिका सकिएपछि इन्टर मायमी फर्किएका छैनन् ।

मेसीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको भएपनि उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन । त्यसैले पनि अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश गरेका छैन । ३७ वर्षीय मेसीले फिफा विश्वकप छनोटका लागि दुई खेल गुमाउने भएका छन । उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल र त्यसको ५ दिनपछि हुने कोलम्बियासँग खेल गुमाउने निश्चित छ ।

मेसी टोलीमा नहुँदा अर्जेन्टिनाको खेलमा पनि निकै प्रभाव पर्ने आंकलन गरिएको छ । मेसी टिमका कप्तान र सबैभन्दा अनुभवी खेलाडी हुन । उनको अनुपस्थितिमा टिमले महत्वपूर्ण नेतृत्व गुमाउन सक्ने र टिमले आफ्नो खेलशैली तथा रणनीति पनि परिवर्तन गर्नुपर्ने हुनसक्छ । साविक विजेता समेत रहेको अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फको सबै दक्षिण अमेरिकी राष्ट्रहरुसँग ‘होम एण्ड अवे’ मा आधारित राउन्ड रोबिनको ढाँचामा खेल्नेछ।

सन २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा फिफा विश्वकप आयोजना गर्नेछन। पहिलो पटक फिफाले विश्वकपमा ४८ टिमलाई प्रतिस्पर्धा गराउन लागेको हो। चार–चार टिमलाई समावेश गरेर १२ वटा समूह बनाएर खेलिने विश्वकपमा कुल १ सय ४ म्याच हुनेछन। आयोजक भएकाले क्यानाडा, अमेरिका र मेक्सिको भने स्वतः विश्वकपमा छनोट भईसकेका छन । अन्य ४५ राष्ट्रले भने छनोट खेलेर विश्वकपमा स्थान सुरक्षित गर्नेछन ।

मेसी मायमीमा आबद्ध भएदेखि टिकट मूल्य वृद्धि सम्बन्धित तथ्य
२६ अगस्त २०२३ मा मेसीले मायमीका लागि डेब्यू गरेको खेलमा टिकट मूल्य ३० डलरबाट बढेर ५ सय १२ डलर पुगेको टिकटपिकले जनाएको थियो । उक्त खेल इन्टर मायमीले आफ्नै घरेलु मैदानमा न्यूयोर्क रेड बुल्ससँग खेलेको थियो। मायमीले २–० ले जितेको उक्त म्याचमा मेसीले खेलको ८९औं मिनेटमा एक गोल गरेका थिए।

त्यस्तै, २ सेप्टेम्बर २०२३ मा मेसी सम्मिलित इन्टर मायमी क्लब र लस एन्जेल्स एफसीबीच भएको खेलमा पनि टिकटको मूल्य ८१ डलरबाट एकैचोटी ५ सय ९९ डलर पुगेको थियो । टिकट सम्बन्धित अभिलेख राख्ने अर्को संस्था टिकेटआईक्यूका अनुसार मायमीले चार्लोट एफसीको घरेलु मैदानमा खेलेको म्याचको टिकट मूल्य ४२ डलरबाट बढेर ३ सय ५६ पुगेको जनाइएको थियो।

मायामीको घरेलू मैदानमा भएका खेलमा औसत टिकट मूल्य वृद्धि दर ५ सय १५ प्रतिशत रहेको तथ्यांकले जनाउँछ। त्यतिबेला सिजनको सुरुमा १ सय ५२ डलर रहेको टिकट मूल्य अचानक बढेर ९ सय ३५ डलर पुगेको टिकटआईक्यूको रिपोर्टमा उल्लेख छ।