अमेरिकामा मारिएकी ‘ममता’का आफन्त अचेत

19.36k
Shares

काभ्रे ।
विवाहपछि अमेरिका बस्दै आएकी छोरी ममता काफ्लेको हत्याको खबरले पनौती नगरपालिका–६ मा रहेका बुबा, आमासहित परिवारका सदस्यहरु अचेत भएका छन्। खबर सुने लगत्तै ममताका बाबु, आमा, दाइ र बहिनी लगायतका आफन्त भावविह्वल भएका थिए।

छोरी ममतालाई ज्वाई नरेश भट्टले हत्या गरेको आमा गीताकुमारीले बताउनुभयो । ‘२०८१ साउन १६ अथात् जुलाई ३० तारेखका दिन छोरी ममतासँग कुरा भएको थियो’, उहाँले भन्नुभयो– ‘त्यही दिनको कुराकानी नै छोरीसँगको संवाद अन्तिम बन्यो ।’ ममतासँग हरेक दिन जस्तै कुराकानी गर्ने आमा गीताकुमारीले नेपालबाट ३१ तारेखमा फोन गर्दा उठेन।

लगातार १, २ र ३ तारेखमा फोन गर्नुभयो लागेन । ३ तारेखमा ज्वाइँलाई फोन गर्दा उठाएनन्। त्यसलगत्तै नेपालमा रहेका नरेशका भाइहरु महेश र भूपेन्द्रलाई फोन गरेर सोध्नुभयो । मतलव नभएको जस्तो गरी ओठे जवाफ फर्काए। तत्कालै ज्वाइँ नरेशलाई भ्वाइस म्यासेज पठाउनुभयो। धेरै दिन म्यासेज हेरेनन् ।

५ तारेखका दिन छिमेकी सुनीता भण्डारीलाई फोन गरेर गीताकुमारीले छोरीको खबर बुझिदिन अनुरोध गर्नुभयो। सुनीताले नरेशलाई भेटेर खबर गरेपछि मात्रै भ्वाइस म्यासेज पठाउँदै छोरीले आधारभूत सामान समेत लिएर निस्किएकाले थाहा नभएको बताए।

साथै, छोरी हेरेर घरभित्रै बस्नुपर्ने भएकाले खोजबिन गर्न नसकेको जवाफ दिए। छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उहाँका श्रीमान्सहितले छोरी ममता धेरै दिनदेखि घर भित्र–बाहिर नगरेकाले प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो। अहिले न्यौपानेले ममताको बच्चा स्याहारका लागि भन्दै डोनेसन संकलन गरिरहनुभएको छ। १ लाख डलर तार्गेट राखिएको उक्त कोषमा अहिले डेड लाख भन्दा धेरै संकलन भइसकेको छ। ज्वाइँ नरेशले भने निरन्तर ढाँटिरहे । गीताकुमारीले ज्वाइँ छोरी मार्‍यौ कि क्या हो ? भन्दा सियो हो र ? भन्दै जवाफ फर्काएका थिए।

पनौती–६ का वडाध्यक्ष आचार्यले समेत नरेशलाई फोन गरेर ममताका बारेमा बुझ्नुभएको थियो। उहाँलाई पनि त्यस्तै जवाफ फर्काएका थिए। नेपाली समुदायको निरन्तरको दबाबपछि त्यहाँको प्रहरीले नरेशलाई पक्राउ गरेको छ। छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहनुभएको छ। नरेशकी आमा बुहारी सुत्केरी स्याहार्न गएका बेला पनि नरेशले ममतालाई हिंंसा गरेर घरबाट निकालेका थिए। मन्दिर छोएर भाकल गरी आइन्दा त्यस्तो नगर्ने सर्त गरेपछि मात्रै ममता घरमा फर्किएकी थिइन्।


नरेशले आमालाई नेपाल फर्काएर, आफूले चढेको गाडी समेत बिक्री गरिसकेका थिए। योजनाबद्ध रूपमा घर बिक्रीका लागि केही नेपाली समुदायका व्यक्तिहरुलाई भनिसकेका थिए। ममताको हत्यासँगै उनी भारत जाने तयारी गरेको खुलासा भएको छ।
ममताको जन्मघर पनौती–६ नमोबुद्ध रोड काभ्रेपलाञ्चोक हो। उनको पुख्र्याैली घर काभ्रेपलाञ्चोक जिल्लाको साविक गोकुले गाविस हालको महाभारत गाउँपालिका–२ हो । ३० वर्षअघि गोकुलेबाट पनौती आएर मजदुरी शुरु गरेका ममताका बाबुआमाका तीन सन्तान छन् । पहिलो छोरा र दुई छोरी । उनी दोस्रो सन्तान पहिलो छोरी हुन्।

स्थानीय विद्यालय नवरत्न माविबाट एसएलसी उत्तीर्ण गरी बनेपाको बेलरबाट कक्षा १२ उत्तीर्ण सकेकी ममताले पैसा तिरेर नै बैंगलोरमा रहेको नर्सिङ कलेजको उत्कृष्ट नम्बर ल्याएर नर्सिङ उत्तीर्ण भएकी थिइन्। तर, उनले उत्कृष्ट भए बापत छात्रवृत्ति प्राप्त गरिन्।

२०७७ मंसिरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडीमा बसोबास गर्दै आएका नरेश भट्टसँग विवाह भएको थियो। उनी परिवारका जेठा सन्तान थिए। २०७८ साउन १० गते अमेरिका गएकी ममता कहिल्यै फर्किनन्। परिवारलाई खुसी बनाउने सपना बोकेर नर्सिङमार्फत विरामीको सेवामा दत्तचित्त भएर लाग्ने प्रण गरेकी ममता अमेरिकाको अस्पतालमा काम गरिरहेकी थिइन् । विरामीहरुको सेवा गर्दागर्दै आफैं संकटमा रहँदा पनि उनले परिवारलाई दुःख साटेकी थिइनन्।

अमेरिकामा ३१ जुलाईका दिन ममता घरभित्र पसेको फुटेज प्रहरीले फेला पारेको थियो। घरभित्र पसेकी ममता घर बाहिर निस्किएको कुनै रेर्कड फेला नपरेपछि प्रहरीले श्रीमान् नरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको हो । ममताको शव फेला परेको अमेरिकाको प्रहरीले आधिकारिक पुष्टि नगरे पनि नेपाली समुदायले भने ममताको हत्या गरेर घरभित्रै शव पुरेको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

‘के गर्ने ? के नगर्ने ? सोच्न सकिएको छैन’, वडाध्यक्ष आचार्यले भन्नुभयो– ‘नेपाली दूतावास र अमेरिकामा रहेका नेपालीहरु तथा त्यहाँको दूतावास र अमेरिकाको सरकारको नियम अनुसार ममताको शव र बच्चाको अवस्थाका साथै उनीहरुको दायित्वका बारेमा निर्णय लिने छौं ।’