रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु, केही बेपत्ता


काठमाडौं ।

रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति गएको पहिरोमा परी  १८ महिने  शिशुसहित दुई जनाको मृत्यु भएको हो।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको  र उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा चन्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ रहेका छन् । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् ।

पहिरोमा केही बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । पहिरोले चार वटा घर बगाएको छ । अधेरी खोलाको पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको उनले बताए ।