यसरी भयो सशस्त्र प्रहरीको गठन

0
Shares

सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो। माओवादी युद्ध चर्किँदै गएपछि सरकारले नेपाली सेना र नेपाल प्रहरीबीचमा एक -अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेना र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ सशस्त्र प्रहरी बल विसं २०५७ मा स्थापना गरिएको थियो । सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठ हुन् ।

महानिरीक्षक कृष्णमोहन श्रेष्ठको जन्म विसं २००३ साल फागुन ३ गते संखुवासभाको चैनपुर बजारमा भएको थियो। विसं २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।

शुरूमा नेपाली सेनाबाट १२० र नेपाल प्रहरीबाट करिब १० हजार जनाको सरुवा गरी सशस्त्र प्रहरी बल स्थापना गरिएको थियो । अहिले यो संगठनमा ३७ हजारभन्दा बढी दरबन्दी छ ।

विभिन्न बिग्रेडका साथै सीमा क्षेत्र तथा महत्वपूर्ण क्षेत्रनजिकै स्थायी तथा अस्थायी आधार शिविरहरू रहेको यस बलको स्थापना प्रारम्भिकरूपमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी माओवादी विद्रोहीविरुद्ध लड्नमा सघाउ पु¥याउने उद्देश्यले गरिएको भए पनि यसको भूमिका विस्तार हुँदै गएको छ ।

सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार नेपाल सरकारले सशस्त्र प्रहरी बललाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पु¥याउन एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्न सक्छ ।

सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी

-देशको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि, आतंककारी गतिविधि वा दंगा नियन्त्रण गर्ने ।

-नेपालको कुनै भागमा भएको वा हुनसक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पु¥याउने ।

-नेपालको कुनै नागरिक वा अरू कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्ने वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्ने ।

-नेपालको सीमा सुरक्षा गर्ने ।

-बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने ।

-सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्ने ।

-सरकारले सुरक्षा दिनुपर्ने ठह¥याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्ने ।

-यो ऐन र यस ऐनअन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानुनबमोजिम तोकिएका कार्य गर्ने ।