न्युटन र भ्याली पब्लिकको जित



काठमाडौं ।

न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्। न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित गर्‍यो। न्युटनको जितमा दिवस मगरले १० अंक योगदान गरे। अशोक विकको १३ अंक सहयोगमा भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४–२० ले हरायो।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले स्किब्सलाई २४–१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३–११ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०–१४ ले पाखा लगाए। एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सर्गम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले ८ स्कोर गरे।

सिनियर ब्वाइजमा डीबीएले दोहोरो जित आत्मासात् गर्‍यो। डीबीएले पारामाउन्टलाई ४४–३३ तथा न्युटनलाई २७–२६ ले पन्छायो । डीबीएका लागि पारमाउन्ट विरुद्ध नमन काफ्लेले १३ तथा न्युटन विरुद्ध अनिश केसीले ८ अंक बटुले।

सिनियर ब्वाइजमै हिमालयनले केभीकेएसएसलाई ७०–५६ तथा गोल्डेनपिकले जिनियस वल्र्डलाई ८३–५१ ले पराजित गरे। हिमालयनका मिङमा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे।

सिनियर गर्ल्स मा फेरिल्यान्डले केभीकेएसएसलाई १९–९ तथा ग्रिनल्यान्डले सत्य साइलाई ३५–१७ ले हराए । फेरिल्यान्डकी कृतिका कट्वालले ९ तथा ग्रिनल्यान्डकी विहानी राईले २२ अंक जोडे ।