परिवारका लागि १ अर्ब ४० करोड यूरो त्यागेका मेसी

15.6k
Shares

काठमाडौं ।

आफ्नो परिवारको खुसीको लागि मान्छेले के–के गर्दैनन र । सामान्यतया जो कोहीले पनि परिवारका लागि धेरै भन्दा धेरै पैसा कमाउन चाहन्छन । परिवारको खुसीका लागि आयआर्जनलाई नै पहिलो प्राथमिकता राख्ने गरेको अहिलेको यथार्थ पनि हो।

अझ पैसाकै लागि परिवारबाट टाढिनु त सामान्य नै बनिसक्यो नेपाली समाजमा। तर, यस्तो सोच सबैतिर लागू नहुने उदाहरण बनेका छन अर्जेन्टिनी स्टार लियोनेल मेसी। अर्जेन्टिनी सुपरस्टार फुटबलर मेसीको हकमा भने परिवारकै लागि भनेर धेरैभन्दा धेरै पैसा कमाउनु पर्छ भन्ने कुरा लागू भएको देखिदैन।

हुनत त मेसीलाई के कुराको कमी होला र । तैपनि पैसा कमाउने इच्छा त कसको पो सकिन्छ र भन्ने प्रश्न पनि उठ्छ। तर, मेसीले भने राम्रो आयलाई लत्याएर परिवारको चाहनालाई नै बढी महत्व दिएको एउटा घटनाक्रमले देखाउँछ। मेसीले परिवारकै लागि झन्डै डेढ अर्ब यूरोको प्रस्तावलाई लत्याएको कुरा सुन्दा अचम्म लाग्न सक्छ। तर, यो सत्य हो । विभिन्न सामाजिक सञ्जालमा खोज्यौं भने यसको पुष्टि हुन्छ।

मेसी सन २०२३ को जुन महिनामा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अमेरिकन मेजर लिग सकर क्लब इन्टर मायमीमा अनुबन्धित भएका थिए। त्यसअघि मेसी आफ्नो पुरानो क्लब बार्सिलोनामा नै फर्कन चाहन्थे। तर, बार्सिलोनाले उनीप्रति कुनै चासो नदेखाएपछि मेसीले इंग्ल्यान्ड फुटबल टिमका पूर्व कप्तान डेभिड बेकहमको लगानी रहेको इन्टर मायमीलाई रोजे।

वार्षिक ५० देखि ६० मिलियन अमेरिकी डलरमा उनले मायामीसँग साढे दुई वर्षका लागि सम्झौता गरे । हो, यही समयमा उनलाई साउदी अरेबियाको साउदी प्रो लिग फुटबल क्लब अल इत्तिहादले पनि अनुबन्ध गर्ने भरमग्दुर प्रयास गरेका थिए। इत्तिहाद क्लबले उनलाई मायमीमा भन्दा ३ गुणाभन्दा बढी पैसा दिने प्रस्ताव राखेका थिए।

ढल्कंदै गरेको उमेरमा पनि उनलाई अल इत्तिहाद क्लबका अध्यक्ष अल–हैलीले १.४ बिलियन अर्थात १ अर्ब ४० करोड यूरो र वार्षिक ८.८ करोड यूरो दिने अफर गरेका थिए । तर, मेसीले त्यसलाई त्यागेर अमेरिका नै रोजे। वास्तवमा उनले मायमी नै रोज्नुको कारण चाहिँ उनको परिवार थियो। उनको परिवार अमेरिकामा बस्न चाहेकाले उनले अल–इत्तिहादको प्रस्तावलाई स्वीकारेको नगरेको बताएका थिए।

अल–हैलीले एउटा खेलाडीले यस्तो ठूलो प्रस्तावलाई परिवारको लागि अस्वीकार गर्न सक्छ भनेर विश्वासै गर्न नसक्ने भन्दै आश्चर्य मानेका थिए। मेसीको इन्टर मायमीमा जाने निर्णयले अमेरिकी मिडिया र फुटबल प्रेमीहरू निकै खुशी भएका थिए। अमेरिकी फुटबलको स्तरलाई थप उँचाईमा पुर्‍याउन पनि मेसीले अमेरिकन मेजर लिग सकरलाई रोजेको कुरा फुटबलका प्रशंसक र मिडियाले प्रचार गरेका थिए।

आफ्नो परिवारका लागि १ सय ४० करोड यूरोलाई परवाह नगर्ने मेसी फुटबल जगतका एक दुर्लभ खेलाडी समेत हुन। किनभने मेसीलाई गरिएको अफरको एक तिहाई धनराशिमा पनि अहिले नाम चलेका थुप्रै अन्तर्राष्ट्रीय फुटबल स्टारहरु साउदी प्रो लिगमा अनुबन्धित हुन तँछाडमछाड गरिरहेका छन । र यो क्रमले अहिले निरन्तर बढी पनि रहेको छ।