हिमालयन गानादा फुटसल गोल्ड कप ‘२०८१’ हुने 


काठमाडौं ।

हिमालयन फुटबल क्लब र गानादा एडुकेसनल कन्सल्टेन्सीको संयुक्त आयोजनामा राजधानीमा ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ आयोजना हुने भएको छ । 

यही भदौ २० र २१ गते आयोजना हुने प्रतियोगिताका सबै खेल चावहिल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् । फुटबल प्रतियोगिताको नाममा गोल्डकप धेरै हुँदै आइरहेको भएपनि फुटसलमा पहिलो पटक गोल्डकप आयोजना गर्न लागिएको दाबी आयोजकको छ ।

प्रतियोगितामा ३२ भन्दा बढी टिमहरुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । भदौ १५ गतेसम्म टिम दर्ताको समयसीमा रहँदा सहभागी शुल्क १२ हजार तोकिएको छ । प्रतियोगिताभर ४ हजार दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ।

खुल्ला प्रतियोगिता भएकोले सबै खेलाडी र टिमले सहभागिता जनाउन सकिने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । फेयर प्ले टिमले २० हजार तथा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान १० हजार प्राप्त गर्नेछन् ।

पछिल्लो समय फुटसलमा बढ्दो आकर्षणसँगै यो खेलको विकासमा केहि सहयोग होस् र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुगोस् भनेर यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबमा सचिव विधा दंगालले बताए । यस प्रतियोगिताले खेलकुद र फुटसल क्षेत्रमा योगदान पुर्‍याउनुका साथै नयाँ खेलाडीहरुको प्रतिभा पहिचानमा महतवपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

नकआउट फर्म्याटमा चल्ने प्रतियोगिताका हरेक खेल पहिलो र दोस्रो हाफ १०-१० मिनेटको रहनेछन् । प्रतियोगितामा भाग लिन आउने उपत्यका बाहिरका टिमलाई सहुलियतको व्यवस्था गरिने समेत कार्कीले बताए । नेपाल खेलकुद पत्रकार मञ्चको हलमा आयोजित पत्रकार सम्मेलनकाबीच आयोजक संस्थाले प्रतियोगिताको ट्रफी अनावरण पनि गरेको छ ।