साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै


काठमाडौं ।

काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

नेपाल र बङ्गलादेश समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्। दुवैले आ-आफ्नो खेलमा श्रीलङ्कालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

आजको विजेताले समूह विजेता र उपविजेताको टुङ्गो लगाउने छ। त्यस्तै समूह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन्। भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ। अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुङ्गो लाग्ने भएको छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।