त्रिविमा लफडा, स्ववियु विभाजित


काठमाडौं ।

शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षा थ्रेट बढेको अभिव्यक्ति दिएपछि त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) दुई भागमा विभाजित भएको छ।

स्ववियु सभापति श्यामराज ओझाले शिक्षामन्त्री  भट्टराईलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएका छन् भने सचिव सिद्धान्त भट्टले विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन खोजिएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिएका छन्। दुवै जनाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीको अभिव्यक्तिबारे धारणा सार्वजनिक गरेका हुन् ।

त्रिवि स्ववियु सभापति ओझाले कोबाट सुरक्षा थ्रेट आएको भन्ने प्रस्ट हुनुपर्ने बताए। विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित हुन नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाए। पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले चकित तुल्याएको सभापति ओझाको भनाइ छ।

‘कसले ? कहाँ ? कुन माध्यमबाट ? कहिले ? कसलाई ? कुन प्रकारको धम्की दिएको हो ? त्यो नखुलाई विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिहरूको समेत अवमूल्यन हुने गरी विश्वविद्यालयका पदाधिकारीको  गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ,’ सभापति ओझाले भने ।

विश्वविद्यालयको शैक्षिक गरिमामाथि नै आँच आउनेगरी अत्यधिक मिडियाबाजी भएपश्चात् सोधीखोजी गर्दा पदाधिकारीका कार्यालय प्रमुखहरूलाई समेत धम्की आएको जानकारी नभएको बुझिएको उनको भनाइ छ। सुरक्षाको विषय भन्दै आम मानिसमा भ्रम सिर्जना गर्दै पपुलिस्ट शैलीमा राजनीतिक नेताको नजिक हुने दाउमा अहिलेका पदाधिकारी लागेको उनले बताए। अनावश्यक राजनीतिकरणमा लाग्नुको साटो प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई समेत उनले चुनौती दिएका छन् ।

आफ्नो क्षमताले विश्वविद्यालय चलाउन सकिँदैन भन्ने लागेका कारण बहानाबाजी गरेर आफ्नो दायित्वबाट पन्छिने मनसाय राखिएको भए पदबाट राजीनामा दिन समेत उनले पदाधिकारीहरूलाई आग्रह गरे।

यस्तै स्ववियु सचिव भट्टले भने विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा रिक्त रहेको विभागीय प्रमुख नियुक्तिमा स्वार्थ समूह/व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयको पदाधिकारीमाथि स्वार्थ समूहले डर, धम्की दिएको भनी आएका समाचारप्रति स्ववियु विश्वविद्यालय क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले  दबाब र प्रभावमा परेर विश्वविद्यालयको ऐन, विनियम तथा कार्यविधि विपरीत हुनै पनि निर्णय नगर्न तथा विद्यार्थी र विश्वविद्यालयमैत्री निर्णय निर्धक्क भएर गर्न समेत त्रि. वि. पदाधिकारी समक्ष अनुरोध गरे।  उनले विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन खोजिएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिए।

‘कुनै पनि राजनीतिक दबाबमा पारी गराउन खोजेका यस्ता निर्णयले विश्वविद्यालयलाई थप दलीयकरण गर्न प्रशय गर्ने तथा राजनीतिक नियुक्ति खाएर विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन उद्धत व्यक्ति/समूहदेखि समयमै सचेत हुन समेत स्ववियु त्रिवि पदाधिकारी समक्ष जोडदार माग गर्दछ।’ सचिव भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  

यता नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले पनि अमुख आयातित पात्रलाई समाजशास्त्र केन्द्रिय विभागको विभागिय प्रमुख नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारी त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सृजना गरि अफवाह फैलाइएको आरोप लगाएको छ।

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागिय प्रमुख नियुक्त गर्नुपर्नेमा आफ्ना कुकार्यहरु ढाकछोप गर्न कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्न उद्दत त्रिवि पदाधिकारीलाई कावाही गर्नुको सट्टा उल्टै माननीय शिक्षा मन्त्रीले हल्लै हल्लाको भरमा गलत सूचना समाजिक संजालमा राखेर मन्त्री पदको गरिमा बिर्सीएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष विष्णु बलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दिनदहाडै विद्यार्थी तर्सिने गरि बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरि आतंक मच्चाउनु आफैमा लज्जास्पद विषय भएको नेविसंघले ठहर गरेको छ ।