धनीबाट गरिब भएका चर्चित खेलाडीहरू

22.75k
Shares

काठमाडौं ।

खेलमा निकै कमाएर पछि गरिब भएका खेलाडी पनि रहेका छन् । खेलुन्जेल कमाएको रकम जगेडा नगर्ने बानी भएका खेलाडी पछि करिअर सकेपछि गरिब बन्न बेर हुँदैनन्।

कमाएका रकम वचत गर्ने खेलाडीका लागि भने भविष्यमा कुनै दुःख हुँदैन । तर, कमाएको रकम खर्च गरेर मात्रै होइन कि कुनै व्यवसायमा लगानी गरेर डुब्यो भने पनि ती खेलाडी गरिब हुन्छन्। विश्वमा व्यवसायमा फेल खाएर र धेरै लक्जरी लाइफ बिताउने गर्दा गरिब भएका खेलाडी छन्। धनीबाट गरिब भएका केही खेलाडीः

असामोह गयान (फुटबलर)
असामोह गयान घानाका लोकप्रिय फुटबलर हुन् । २०१८ मा उनको बैंकमा रकम मात्र ६ सय पाउन्ड रहेको थियो । आम्दानी नभएरै उनले परिवार पनि राम्ररी सम्हाल्न पनि सकेनन्। उनले सांघाई एसआईपीजीमा हुँदा साताको २ लाख २७ हजार पाउन्ड कमाउँथे । हाल ३७ वर्षका गयान प्रिमियर लिगअन्तर्गत सन्डरल्यान्डबाट अन्तिम पटक खेलेका थिए ।

रोनाल्डिन्हो (फुटबलर)
ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्होलाई नचिन्ने शायद कोही होला । तर, उनी पनि २०१८ मा गरिब घोषित भए । त्यतिबेला उनको बैंकमा केवल ५ डलर रहेको थियो ।

हाल ४३ वर्षका उनी अहिले १.७५ मिलियन पाउन्डको ऋणमा छन् । यही ऋणले गर्दा बार्सिलोनाका स्टार खेलाडी समेत रहेका रोनाल्डिन्होको पासपोर्ट समेत सिज गरिएको छ। उनले २०२० मा फर्जी डकुमेन्टको कारण जेलमा समेत समय बिताउनु परेको थियो ।

डिएगो म्याराडोना (फुटबलर)
डिएगो म्याराडोना अर्जेन्टिनी लिजेन्ड फुटबलर तथा सबैको प्यारो खेलाडी समेत थिए । २०२० नोभेम्बरमा अकस्मात निधन भएका म्याराडोनाले नकमाएको के छ र ? तर, उनी पनि पैसाको मामिलामा गरिब बन्नु पर्‍यो ।

नेपोलीमा १९८० को दशकमा खेलेबापत तिर्नु पर्ने कर तिरेका थिएनन् । उनले समयमै कर तिर्नु पर्ने सुझाव नदिएकोले पनि यस्तो भएको एक पटक उनले बताएका थिए। यही कर तिर्न उनले ४२ हजार युरो, दुई वटा रोलेक्स घडी धरौटीमा राखेका थिए। ड्रगमा फस्नु र २०१० मा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट कोचको जागिर खोसिनुले उनलाई गरिब बनाएको थियो ।

अरान्जा सान्चेज (टेनिस)
स्पेनकी अरान्जा सान्चेज १९८० र १९९० को दशककी लोकप्रिय महिला टेनिस खेलाडी थिइन्। स्पेनकी सान्चेजले २० वर्ष टेनिस करिअरमा खेलिन्। हाल ५१ वर्षमा पुगेकी उनले चार ग्रान्डस्लाम उपाधि जितेकी थिइन्। उनी संन्यास हुँदा उनको सम्पत्ति १३.४ मिलियन पाउन्ड रहेको थियो। तर, २०१२ मा भने उनले ऋण तिर्न पनि संघर्ष गर्नु परेको थियो। उनले आरोप लगाएकी थिइन् कि उनका आमाबुबाले ४३.५ मिलियन पाउन्ड डुबाएका थिए।

गोरान इभानिसेभिच (टेनिस)
वाइल्डकार्ड पाएर विम्बल्डन टेनिस प्रतियोगिता जित्ने विश्वकै एक मात्र खेलाडी हुन् गोरान इभानिसेभिच। २००१ मा विम्बल्डन जितेर इतिहास रचेका क्रोएसियाका इभानिसेभिचले करिअरबाट १५.७ मिलियन पाउन्ड कमाएका थिए। २००४ मा संन्यास लिएका उनले एक वर्षपछि नै गरिब भएको घोषणा गरे । उनको व्यवसायमा लगानी गरेको रकम डुबेको बताइएको थियो।

प्याटी सिनाइडर (टेनिस)

सेरेना विलियम्स, मार्टिना हिंगिज जस्ता शीर्ष खेलाडीलाई हराएपछि प्याटी सिनाइडरलाई टेनिसमा उदीयमान खेलाडीको रुपमा हेरिएको थियो । उनले ११ एकल उपाधि जितेकी थिइन् भने ६ पटक ग्रान्डस्लाम क्वाटरफाइनलसम्म यात्रा गरेकी थिइन् । उनी एक पटक मात्रै सेमिफाइनलमा पुगेकी थिइन् ।

२००३ मा आफ्नै कोच रेनर हफम्यानसँग विवाह गरेकी सिनाइडरको यहीबाट आर्थिक समस्या देखियो । सिनाइडरले २०११ मा संन्यास लिँदा उनले ६.७ मिलियन पाउन्ड आर्जन गरिसकेकी थिइन् । तर, २०१२ मा पुग्दा उनको ऋण ३ लाख पाउन्ड पुगेको थियो । उनले ट्रफीहरू, ¥याकेट, टेनिस बल लिलामीमा राखेकी थिइन्।

पैसाको समस्यामा परेपछि फेरि उनी टेनिसमा फर्किन् तर, उनको फर्काइ सुखद भएन । उनी २०१८ को यूएसओपनमा पहिलो चरणबाटै बाहिरिइन् र फेरि संन्यास लिनु परेको थियो ।