ताप्लेजुङमा अन्तराष्ट्रिय रेड पाण्डा म्याराथन हुने

940
Shares

ताप्लेजुङ ।

ताप्लेजुङमा आगामी असोज ५ गते अन्तर्राष्ट्रिय रेड पाण्डा म्याराथन आयोजना हुने भएको छ। हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्न लागेको हो।

म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ, जुन रेडपाण्डाको मुख्य बासस्थान हो। फुङ्लिङ बजारदेखि ३,७९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधामसम्म २४ किलोमिटर उकालो र त्यहाँबाट पुनःफुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर कुल ४८ किलोमिटरको दूरी पूरा हुनेछ।

असोज ५ गते रेडपाण्डा दिवसको अवसरमा आयोजना हुने म्याराथनमा रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको समेत सहयोग रहनेछ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ, र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ ।

समग्र विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने पुरुष र महिलातर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले समान पुरस्कार रकम प्राप्त गर्नेछन् । जमसा, क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार रहेको छ। विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट सहभागीहुने धावकहरूको लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकहरूले क्रमशः १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विदेशी धावकहरूका लागि १०० डलर तथा नेपाली धावकहरूका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। ताप्लेजुङ, पाँचथर, र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूका लागि दर्ता शुल्क १ हजार रुपैयाँ राखिएको छ।

यो म्याराथनलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष १० लाख रुपैयाँ सहयोग गर्नेछ । साथै फुङ्लिङ नगरपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ। आयोजककाअनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समितिप्रमुख छिरिङ लामाले बताए।