राजस्व अनुसन्धान र सम्पत्ति शुुद्धीकरण विभाग नेतृत्वविहीन

नयाँ महानिर्देशक पठाउन ढिलाइ


काठमाडौं ।

राजस्व छली गर्नेहरुलाई कानुनी दायरामा ल्याएर राजस्व छली रोक्ने राजस्व अनुसन्धान विभाग नेतृत्व विहीन भएको छ। यस्तै कालोधनलाई सेतो बनाउनेहरु माथि छानबिन गर्ने अर्को महत्वपूर्ण निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग पनि नेतृत्वविहीन बनाइएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्ट्राई दुबैको सरुवा गरिएको झण्डै एक हप्ता सम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ती दुवै निकायमा नयाँ महानिर्देशक पठाउन नसकेको हो।

महानिर्देशक विहीन बनाइएका दुबै निकाय प्रधानमन्त्री कार्यालय मातहत रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको विभागलाई नै लामो समयसम्म नेतृत्वविहीन राखिएको भन्दै प्रधानमन्त्री कार्यालयको आलोचना हुदै आएको छ।

ती दुवै विभागहरु नेतृत्वविहीन भएपछि विभागले कुनै काम गर्न सकेको छैन् । दैनिक नियमित प्रशासनिकबाहेक विभागमा कुनै पनि छानबिन तथा अनुसन्धानको काम हुन नसकेको विभागकै कर्मचारीहरुले बताएका छन्। दुवै विभागमा सयौ फाइलहरु अनुसन्धानका क्रममा छन् तर महानिर्देशकको अभाव हुँदा सबै अनुसन्धानहरु रोकिएको बताइएको छ।

राजस्व अनुसन्धान विभागले नेतृत्वको अभावमा आफ्नो काम कारवाही अघि बढाउन नसक्दा राजस्व छली गर्नेहरुलाई सहज हुन थालेको छ भने अपराधिक कार्य गरेर धन आर्जन गरी शुद्धीकरण गराउनेहरु माथिको छानबिन प्रक्रिया अवरुद्ध हँुदा त्यस्ता पक्षलाई प्रोत्साहन मिलेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केही दिनअघि कार्यालयमा सरुवा भएर आएका केही सहसचिवहरु दुवै विभागमा जान दौडधूप गरिरहेकाले कसलाई पठाउने भन्नेमा समस्या परिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार अन्यत्रबाट सरुवा भएर आउनुभएका चण्डीप्रसाद घिमिरे, सुमन दाहाललगायतका सहसचिवहरु विभागको महानिर्देशक बन्न दौडधूप गरिरहनुभएको छ।

सम्भवतः उहाँहरुमध्येबाटै महानिर्देशक हुने बताइएको छ । यद्यपि महानिर्देशक पठाउन ढिलाइ गर्नुलाई भने विभिन्न शंकाको दृष्टिले हेरिएको छ।