आत्मविश्वास कसरी बढाउने ?

0
Shares

जीवनमा प्रगति गर्न लागि आत्मविश्वासको एकदमै जरुरत पर्छ । तर, कतिपय किशोरकिशोरीहरूमा आत्मविश्वास ज्यादै कमजोर पाइन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरू संसारसँग जोडिइरहेको जस्तो, ठूलो समूहमा घुलमिल भइरहेजस्तो लाग्छ ।

तर, भर्चुअल रूपमा दुनियाँसँग जोडिएको देखिए पनि समाज समक्ष वास्तविक रूपमा उभिनुपर्दा र भावनात्मकरूपमा जोडिनुपर्दा भने धेरै किशोरकिशोरीमा हिचकिचाहट महसुस भएको पाइन्छ । जसले गर्दा उनीहरूले जीवनमा धेरै असफलता व्यहोर्नुपरेको हुन्छ ।

आत्मविश्वास भनेको आफूमा रहेको क्षमतामा विश्वास राख्ने र कुनै पनि परिस्थितिमा सही निर्णय लिनसक्ने क्षमता हो । आत्मविश्वासले मानिसलाई जीवनका चुनौतीहरूको सामना गर्न, अवसरहरूको सदुपयोग गर्न र सफलताको मार्गमा अघि बढ्न मद्दत गर्छ । तर, आत्मविश्वास कमजोर भएमा जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पर्छ । त्यसकारण आत्मविश्वास दरिलो बनाउन आवश्यक हुन्छ ।

आत्मविश्वास बढाउनका लागि आफ्नो क्षमतामा विश्वास गर्नु पहिलो कदम हो । हरेक व्यक्तिमा केही न केही विशेषता र क्षमता हुन्छन् । आफूमा भएका सकारात्मक एवं सवल पक्षलाई चिनेर त्यसप्रति विश्वास राख्नुपर्छ ।
नकारात्मक सोच आत्मविश्वासको सबैभन्दा ठूलो शत्रुभन्दा पनि हुन्छ । आफू कुनै काम गर्न सक्तिनँ, बोल्न सक्तिनँ, कुनै काम गर्दा असफल हुने हो कि भन्नेजस्ता नकारात्मक सोचले जोसुकैको पनि मनोबल गिराउने भएकाले आफ्नो मनमा त्यस्ता विचार आउन दिनु हुँदैन । यसको सट्टा कुनै पनि कुरा म गर्न सक्छु र सफल पनि हुन्छु भनेर सोच राखेमा त्यो वास्तविकतामा परिणत हुन्छ ।

आफ्नो आत्मविश्वास बढाउन साना–साना लक्ष्य बनाएर तिनीहरूलाई पूरा गर्ने प्रयास गर्नुपर्छ । जब यी साना लक्ष्य पूरा हुन्छन्, त्यसले तपाईंको आत्मविश्वास बढाउँछ । प्रायः आफ्नै कमजोरीका कारण आत्मविश्वासमा कमी हुने भएकाले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्छ ।

आत्मविश्वास बढाउन लागि सफल व्यक्तिहरूको जीवनी अध्ययन लाभदायक हुन्छ । उनीहरूले कतिपटक असफलता व्यहोरेर कसरी सफलता प्राप्त गरेका हुन् भन्ने जानकारीले आत्मविश्वास बढाउन सहयोग पुग्छ । यसका साथै आत्मसम्मानको विकास गर्ने, स्वस्थ जीवनशैली अपनाउने, लक्ष्य निर्धारण गरेर काम गर्ने र असफलताबाट सिक्ने बानी गर्नाले आत्मविश्वास बढ्छ ।