टिक न्यात हान्ह: सचेतन अर्थात् माइन्डफुलनेस अभ्यासका प्रवर्तक

0
Shares

संसारभरका मानिसलाई शान्त र सन्तुलित जीवन जिउन प्रेरित गरेका भियतनामी बौद्ध भिक्षु टिक न्यात सचेतन अभ्यासका जन्मदाताको रूपमा चिनिन्छन् ।

सन् १९२६ मा भियतनामको क्वांग न्गाई प्रान्तमा जन्मिएका टिक न्यातको वास्तविक नाम गुयेन जुआन बाओ हो । १६ वर्षको उमेरमा भिक्षु बनेका टिक न्यातले बौद्ध धर्मका विभिन्न शाखालाई एकीकृत गर्ने प्रयासस्वरुप ‘इन्गेज्ड बुद्धिज्म’ अवधारणा प्रस्तुत गरे । जसले शान्ति र मानव अधिकारका लागि काम गर्न बौद्ध धर्मको प्रयोगलाई जोड दिन्छ । उनले जीवनपर्यन्त आफ्ना अनुयायीलाई ध्यान र सचेतन अभ्यासलाई दैनिक जीवनमा कसरी समाहित गर्ने भन्ने कुरामा सिकाए ।

भियतनाम युद्धको समयमा शान्ति र अहिंसाका लागि आवाज उठाएका कारण सन् १९६६ मा उनलाई भियतनामबाट निष्कासित गरिएको थियो । त्यसपछि फ्रान्समा बस्न थालेका टिक न्यातले सन् १९८२ मा प्लम भिलेजको स्थापना गरे, जुन अहिले विश्वभरका बौद्ध अनुयायीहरूका लागि एक प्रमुख ध्यान केन्द्र बनेको छ ।

विश्वलाई शान्ति, करुणा र ध्यानको महत्व बुझाउन ठूलो योगदान दिएका टिक न्यातले मार्टिन लुथर किङ जुनियरसँग पनि काम गरे । किङले सन् १९६७ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका थिए । तर किङले सार्वजनिक रूपमा गरेको सिफारिसले नोबेल शान्ति पुरस्कारको परम्परा र प्रोटोकल उल्लंघन भएको भन्दै नोेबेल पुरस्कार समितिले त्यो वर्ष कसैलाई पनि पुरस्कृत गरेन ।

सन् २०१४ मा स्ट्रोक भएपछि बोल्न र हिँडडुल गर्न असमर्थ टिक न्यातले आफ्नो जीवनका अन्तिम वर्षहरू प्लम भिलेजमा बिताए । सन् २०२२ को जनवरी २२ मा ९५ वर्षको उमेरमा भियतनामको तु हिएउ मन्दिरमा उनको निधन भएको थियो ।

टिक न्यातका केही महत्वपूर्ण योगदान:

-सचेतन (माइन्डफुलनेस) अभ्यासलाई पश्चिमी मुलुकमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेले ।
-बौद्ध धर्मका विभिन्न शाखालाई एकीकृत गर्ने प्रयासस्वरुप ‘इन्गेज्ड बुद्धिज्म’ को अवधारणा प्रस्तुत गरे ।
– सन् १९८२ मा फ्रान्समा ‘प्लम भिलेज’ नामक सचेतन समुदायको स्थापना गरे । यो समुदाय संसारभरकै मानिसलाई सचेतन अभ्यास सिकाउन र शान्ति स्थापना गर्न समर्पित छ ।
-भियतनामबाट निर्वासित भएको ३९ वर्षपछि सन् २००५ मा पहिलोपटक भियतनाम फर्किने अनुमति पाएपछि उनले भियतनाममा शान्ति र पुनर्मिलनको सन्देश फैलाए ।
– ‘पिस इज इभ्री स्टेप’, ‘द मिरेकल अफ माइन्डफुलनेस ’ र ‘यु आर हियर’ लगायत एक सयभन्दा बढी पुस्तक लेखेर उनले ती पुस्तकमार्फत ध्यान र सचेतनका सरल, तर प्रभावकारी अभ्यास प्रस्तुत गरेका छन् ।