उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ आकर्षित मनाङी

1.03k
Shares

मनाङ ।

मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले ७ सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।

यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको छ। एग्रो मनाङले लगाएको स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्ने गरेको प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिनुभयो। उहाँले यस वर्ष ४ सय ५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने अनुमान गरेको बताउनुभयो । गत वर्ष ४ सय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक ५ करोड रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

पूर्वसांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट विभिन्न प्रजातिका स्याउको बेर्ना ल्याएर स्याउ खेती प्रारम्भ गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘अहिले पनि नेपालमा बाहिरी देशबाट १३ सय करोड रुपियाँको स्याउ आयात हुन्छ, देशको करोडौं रकम बाहिर जान्छ, देशमा खपत हुने गरी स्याउ उत्पादन गर्नुपर्छ, स्याउ खेतीलाई अझै प्रोत्साहन गर्नुपर्छ ।’ अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्तापित गर्दै उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ लागेको पाइन्छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् ।

मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुशरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले जानकारी दिनुभयो । उत्पादन वृद्धि हुँदा आयस्तरमा पनि बढ्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको पाइएको उहाँको भनाइ छ।

किसानको बारीमै पुगेर प्राविधिक सेवा दिँदै आएको प्रमुख रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘ज्ञान केन्द्रसँगै पालिकामार्फत पनि किसानको सहज रुपमा समस्या समाधानका लागि प्राविधिक खटिन्छन्, जसले कृषकलाई सहज भएको पाइएको छ।’

कृषि ज्ञान केन्द्र मनाङको तथ्यांकअनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती विस्तार भएको छ। ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदानसमेत उपलब्ध गराएको छ। राम्रो उत्पादन भएमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुने प्रमुख रेग्मीले बताउनुभयो ।

पछिल्लो समय मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। स्याउ उत्पादन र बिक्रीवितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन्। नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङले परिवारका साथ परम्परागत खेती गर्दै आउनुभएको थियो । यसबाट जीविकोपार्जन गर्न समस्या भएपछि उहाँ उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे स्याउखेतीतर्फ लाग्नुभएको छ ।

परम्परागत स्याउ खेतीलाई परिष्कृत गर्दै आम्दानी बढाउन (विकासे स्याउखेती) हाइब्रिड स्याउ खेती गर्न थालेको गुरुङ बताउनुहुन्छ । उहाँले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भटमास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै आएको र यी बाली ढिला र कम उत्पादन हुने भएकाले हाइब्रिड स्याउ खेती गर्न थालिएको बताउनुभयो ।

सुरुआतमा चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फर्म’ले स्याउ खेती गरेको गुरुङले बताउनुभयो । यहीँबाट प्रोत्साहन हुँदै मनाङका किसानले उच्च प्रविधिका स्याउ खेती विस्तार गर्दै गइरहेको उहाँको दाबी छ ।

फर्मले सुरुआतमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तार गर्दै गएको छ । चार वर्षअघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

त्यस्तै नासोँ गाउँपालिका–६ तिल्चेका टंक गुरुङले पनि विकासे स्याउ खेती सुरु गर्नुभएको छ । उहाँले तीन रोपनीमा यही प्रजातिका स्याउ खेती गर्दै आउनुभएको छ । यस प्रजातिको स्याउ खेतीबाट छिटो उत्पादन लिन सकिने भएकाले लगानी छिट्टै उठ्ने उहाँले बताउनुभयो ।