युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार


काठमाडौँ ।

 स्पेनका युवा फुटबल स्टार लामिन यमालका बुबामाथि चक्कु प्रहार भएको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार यमालका बुबा मौनिर नसरोईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको थियो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ।

यमालका बुबाको कार पार्किङ स्थलमा विवाद भएपछि उनीहरुले चक्कुले प्रहार गरेको रिपोर्टमा उल्लेख छ । प्रहरीले यमालका बुबाको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको जानकारी दिएको छ ।

हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका यमाल हालै सम्पन्न युरोकपमा स्पेनलाई युरोकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।