यात्रु सुरक्षासँग सम्बन्धित सरकारको दर्जन निर्देशन


काठमाडौं।

यातायात क्षेत्रलाई व्यवस्थित गर्दै यात्रुको सुरक्षामो केन्द्रित रहेर सरकारले यातायात व्यवसायीहरूलाई १२ बुँदे निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

सार्वजनिक यातायातमा सीसीटीभी र ट्रान्सपोन्डर जडान गर्नुपर्ने, सम्पूर्ण सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्ने र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न पनि गृहले निर्देशन दिएको छ ।नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता पारेको घटनाबारेको अध्ययन प्रतिवेदनका विषय कार्यान्वयन गर्दै सरकारले सो निर्देशन दिइएको हो ।

सबै चालक तथा सहचालकसँग रोजगार अनिवार्य सम्झौता अनिवार्य रुपमा गर्न र न्यूनतम तलब, ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कठोर निगरानी गर्न र लामो बाटोमा यातायात चलाउने यात्रुवाहक सार्वजनिक सवारीले कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्नसमेत गृहले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यवहारमा उतार्न भनेको छ ।

सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने, शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न, चालकहरूलाई सुरक्षित ड्राइभिङ्ग सम्बन्धी नियमित रूपमा तालिम दिन र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्न समेत पत्रमा भनिएको छ ।

यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न, चालक तथा सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्न, टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउन र मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्न समेत व्यवसायीलाई गृहले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।