लमजुङमा करिब ३७ हजार मेट्रिक टन आलु उत्पादन 

1.97k
Shares

लमजुङ। 

लमजुङमा गत आर्थिक वर्ष २०८०-०८१ मा करिब ३८ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लाको विभिन्न स्थानमा गरी दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा ३७ हजार आठ सय ५९ मेट्रिक टन आलु उत्पादन भएको हो ।

त्यसै गरी आर्थिक वर्ष २०७९-८० मा दुई हजार ६ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजय राज पौडेलले जानकारी दिए । 

सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०७९-८० मा प्रति हेक्टर ११ टन आलु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०-०८१ मा प्रति हेक्टर १६.५७ टन आलु उत्पादन भएको छ । 

गत वर्ष देखि जिल्लाका चार स्थानीय तहहरुमा खायन जातको आलु खेती विस्तार कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन भएसँगै जिविकोपार्जनका लागि निर्वाहमुखी खेती किसानी गर्दै आएका कृषकहरु व्यवासायिक आलु खेतीतर्फ आकर्षित भएका थिए । सामान्यतया घरायसी प्रायोजनका लागि आलु लगाउँदै आएका कृषकहरुले गत आर्थिक वर्षमा व्यवसायीक आलु खेती गरे संगै आलु उत्पादनमा वृद्धि भएको छ ।  

गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मार्फत जिल्लाको राइनास नगरपालिका वडा नं. ३, ४ र ६, मध्यनेपाल नगरपालिका ४ र १०, सुन्दरबजार नगरपालिका वडा नम्बर १० अन्तर्गत आठवटा कृषक समूहसँग सम्झौता भई काम भएको थियो । 

रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले प्रदेश सरकारलेनै गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन बढाउनेगरी कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराउने, सिँचाइ, सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ ।