फोहोर व्यवस्थापनमा वीरेन्द्रनगरको न दिगो योजना, न बजेट

112
Shares

श्रीकृष्ण सामुदायिक वनको बाटोमा पैदल यात्रा गर्दै हामी गत साउन ११ गते तारेभीर पुग्यौँ, जहाँ वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फोहोर विसर्जन गर्न बनाइएको अव्यवस्थित ल्यान्ड फिल्ड साइट छ । त्यहाँको दृश्यले हामीलाई भावुक बनायो ।

फोहोरको थुप्रोमा बाँचेको जीवन :
त्यहाँको फोहोरको डंगुरमा आफ्नो जीवन खोतल्दै हुनुहुन्थ्यो, वीरेन्द्रनगर–१ की शान्ति नेपाली। उहाँका श्रीमान् रामबहादुर नेपाली कुनै बेला नेपाल सेनामा कार्यरत हुनुहुन्थ्यो। माओवादीसँगको युद्धमा गोली लागेर उहाँ अहिले हलचल गर्न सक्नुहुन्न। शान्ति भन्छिन्, ‘तीन छोरी र एक छोरालाई अलि–अलि भए पनि शिक्षा दिन र श्रीमान्लाई औषधि एवं खाना खर्च जुटाउनकै लागि जोखिम मोलेर फोहोरसँग खेल्नुपरेको छ।’

यसबाहेक शान्तिसँग अन्य कुनै आयआर्जनको उपाय छैन । फोहोरबाट प्लास्टिकका बोतल छुट्याएर शान्तिले कबाडमा बेच्ने गर्नुहुन्छ । उहाँले महिनामा जसोतसो ६ देखि ८ हजार रुपियाँसम्म कमाउनुहुन्छ। शान्ति मात्र होइन, फोहोरमा जीवनका सपना देख्नेहरु अरु पनि छन्। वीरेन्द्रनगर–१ कै लीला नेपालीको जीवनकथा पनि उस्तै दर्दनाक छ।

ड्राइभर पेसा गरेर घर चलाइरहेका लीलाका श्रीमान्को पनि दुर्घटनामा दुवै खुट्टा भाँचिए, जसका कारण हिँडडुल नै गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। ज्याला मजदुरी गरेर श्रीमान् र छोराछोरीको खर्च व्यवस्थापन गरिरहेकी लीला पनि हिजोआज त्यही फोहोरको डंगुरमा भेटिनुहुन्छ। फोहोरमा काम गरेर रोग लाग्लाभन्दा पनि आजको छाक कसरी टार्ने भन्ने चिन्ता लीला र शान्तिको मात्रै होइन, यहाँ भेटिने यस्ता दर्जनौँ दिदी–बहिनीको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ बस्ने हरिसरा नेपाली र पुष्पा नेपाली विगत ५ वर्षदेखि डम्पिङ साइटमा काम गर्दै आएका छन् । तर कुहिने र नकुहिने मिश्रित फोहोरले उहाँहरुलाई काम गर्न चुनौती छ। उहाँहरुलाई नगरपालिकाले सुरक्षित काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिएको छैन। नगरपालिकाले मास्क, पञ्जा दिनसमेत बेवास्ता गर्दै आएको उहाँहरु बताउनुहुन्छ। औषधि प्रयोगपश्चात् फालिएका सिरिन्ज अनि फुटेका काँच मिसिएको फोहोर मिलाउँदै गरेकी पुष्पा नेपाली विगत पाँच वर्षदेखि काम गर्दै आए पनि आफ्ना समस्याप्रति कोही जिम्मेवार नबनेको बताउनुहुन्छ।

औषधि प्रयोगपश्चात् फालिएका सिरिन्ज अनि फुटेका काँच मिसिएको फोहोर मिलाउँदै गरेकी पुष्पा नेपाली विगत पाँच वर्षदेखि काम गर्दै आए पनि आफ्ना समस्याप्रति कोही जिम्मेवार नबनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दिनमा कयौँपटक हस्पिटलका सिरिन्जहरु बिज्छन् । कतिपटक सिसाले काट्छ । दुर्गन्धको त बानीजस्तै बनिसक्यो । कोरोना, डेंगी पनि लाग्यो तर नगरपालिकाले केही गरेन ।

उहाँ भन्नुहुन्छ, ‘दिनमा कयौँपटक हस्पिटलका सिरिन्जहरु बिज्छन्। कतिपटक सिसाले काट्छ। दुर्गन्धको त बानीजस्तै बनिसक्यो। कोरोना, डेंगी पनि लाग्यो तर नगरपालिकाले केही गरेन। उहाँ थप्नुहुन्छ, ‘आफ्नै खर्चबाट उपचार गर्‍यौँ । हाम्रो आजसम्म स्वास्थ्य बिमासमेत भएको छैन।’ मासिक १३ हजारमा नगरपालिकाले उहाँहरुलाई जोखिमपूर्ण काममा लगाउँदै आएको छ। उहाँसँगै डम्पिङ साइटमा काम गर्दै आएकी हरिसरा नेपालीले सबै फोहोर एकैठाउँमा फाल्ने गरेकोले समस्या भएको दुखेसो गर्नुभयो। ‘हामीले यसलाई सोरेर मिलाउँछौँ’, उहाँ भन्नुहुन्छ, ‘हाम्रो समस्या कसैले पनि सुन्दैन, के गर्नु ? काम गर्नुपर्ने बाध्यता छ।’

वीरेन्द्रनगरले फोहोर संकलनदेखि विसर्जन केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन नसक्दा विशेष गरी महिलाहरु क्यान्सरलगायतका घातक रोगको सिकार भइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले फोहोर संकलन गर्दै गर्दा कुहिने र नकुहिने वर्गीकरण नगरेका कारण समस्या आएको बताउनुभयो।

उहाँ भन्नुहुन्छ, ‘वीरेन्द्रनगरमा प्लास्टिक जलाउने प्रचलन छ, त्यसले निकै समस्या निम्त्याउने हुन्छ । साथै प्लास्टिक जथाभावी फाल्दा पानी जम्मा भएर लामखुट्टे धेरै जन्मिई डेंगीको जोखिम बढ्छ । वीरेन्द्रनगरको ठूलो जोखिम खडा गर्ने विषय नै फोहोर हो।’
नगरपालिकाले डम्पिङ साइटको फोहोर व्यवस्थापनमा महिलाहरुलाई न्यून पारिश्रमिकमा असुरक्षित तरिकाले काममा लगाइरहेको उल्लिखित दृश्यबाट पुष्टि हुन्छ । वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद् उपशाखा प्रमुख यामलाल गिरी नगरपालिकाबाट फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीले सरकारले तोकेको न्यूनतम सेवा–सुविधा पाउने बताउनुहुन्छ । ‘दैनिक ज्यालादारीले बाहिरी लेबरको बराबर पाउँछन् तर नगरपालिकाले त करारमा राखेको हो नि । रोजगारीको ग्यारेन्टी, बिदाको दिनको पनि पैसा पाइन्छ, बिरामी विदा हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘नगरपालिकाले उहाँहरुको सुरक्षाका लागि माक्स, पञ्जा दिएको छ । उहाँरुले ती चिज लिएको स्टोरमा रेकर्ड पनि छ।’

त्यहाँ काम गर्नेहरुको समस्या मात्र होइन, डम्पिङ साइटको फोहोर र त्यसको दुर्गन्धले स्थानीयहरु विस्थापित हुनुपर्ने अवस्था पनि सिर्जना भएको छ । वीरेन्द्रनगर–१ धारापानीका बिर्मा फौंजाको घरमा झिँगा र लामखुट्टेको सास्तीसँगै डम्पिङ साइटको दुर्गन्धले बस्न नसक्ने अवस्था भएको छ। नगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोर उहाँकै घरछेउमा रहेको श्रीकृष्ण सामुदायिक वनमा अव्यवस्थित ढंगले फाल्दै आएको छ। उक्त फोहोरका कारण नै फौंजासहित करिब १६० घरधुरीलाई दुर्गन्धका कारण बस्नै सकस भइरहेको छ।

‘ट्याक्टरमा ल्याउने फोहोर सबै एकैठाउँमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यमा समस्या भइसक्यो’, उहाँ भन्नुहुन्छ, ‘फोहोर पनि बाटोमा खसाल्दै लैजान्छ, डम्पिङ साइट बन्छ भनेको कति भइसक्यो, सबै फोहोर एकैठाउँमा फालेपछि यो समस्या कहिल्यै समाधान हुँदैन।’

१६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको १ देखि १२ वडासम्मको फोहोर संकलन गरी वडा नं. १ धारापानीस्थित तारेभीरमा फाल्ने गरिएको छ। नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफूहरु दुर्गन्धमा बस्नुपरिरहेको स्थानीय लीलाराम पुरीले गुनासो गर्नुभयो। वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नुपरेको बताउनुभयो। फोहोर विर्सजन क्षेत्रमा जाने क्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गरिँदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उहाँको भनाइ छ । अध्यक्ष खत्रीले आफ्नो १ नम्बर वडालाई अरु वडाभन्दा उपेक्षामा पारिएको बताउनुभयो ।

‘हरेक बैठकमा फोहोर व्यवस्थापन भएन भनेर कुरा उठान गरे पनि सुनुवाइ हुँदैन । सुनुवाइ नहुँदासम्म बैठकमा सहभागी नहुने भनी बहिष्कार गरेर निस्किएको छु’, उहाँ भन्नुहुन्छ, ‘अब फोहोर ल्याउनै नदिएर बन्द गर्नुको विकल्प छैन । कुहिने र नकुहिने छुट्टाएर नल्याउने गाडी वडामै छिर्न नदिने योजना बनाएको छु ।’

न दिगो योजना, न त बजेट नै :
वि.सं. २०७३ देखि नगरपालिकाले उत्पादित फोहोर तारेभीरमा विसर्जन गर्दै आएको छ । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ धारापानीको माथिल्लो क्षेत्र प्रभावित बनेको छ । यता नगरपालिकाले ल्यान्डफिल साइट निर्माण कार्यलाई निरन्तरता दिने बताएको छ । यस्तै त्यस क्षेत्रमा जाने सडकको स्तरोन्नति गर्न ८० लाख बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

वीरेन्द्रनगर फोहोर व्यवस्थापनका क्षेत्रमा अध्ययन गरिरहेका कृष्णप्रसाद ढकालका अनुसार दैनिक १२ टन फोहोर वीरेन्द्रनगरमा उत्पादन हुन्छ । दैनिक ३० टनसम्म खपत गर्न सक्ने प्रविधि आइसकेको समयमा यति थोरै फोहोर व्यवस्थापन हुन नसक्नु दुःखद हो । ‘तीनवटा उद्योग जस्तै– प्लास्टिक प्रशोधन गर्ने, कागज प्रशोधन गर्ने र कुहिने फोहोरको इन्टरप्राइज शुरु हुन्छ, जहाँ रोजगारी पनि धेरैले पाउँछन्, फोहोरमा नयाँ उद्यम शुरु हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘दिगोपनाको व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिएन, जसले दुई पैसा बढी दियो उसैलाई फोहोर उठाउन दिँदा समस्या भएको हो ।’

यद्यपि पालिकाले फोहोरको दीर्घकालीन समाधान र यसको व्यवस्थापनका अन्य पक्षहरु कुहिने फोहोरबाट विभिन्न जैविक तथा कम्पोस्ट मल बनाउने तथा नकुहिने फोहोरको पुनः प्रयोगजस्ता गतिविधिलाई जोड दिएको पाइँदैन, जुन अति आवश्यक छ । वीरेन्द्रनगरमा मासिक ३२ ट्याक्टर फोहोर उत्पादन हुन्छ । जसमध्ये कुहिने ६३ प्रतिशत र नकुहिने फोहोर ३७ प्रतिशत उत्पादन हुने गरेको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल बताउनुहुन्छ । उक्त फोहोरमध्ये वार्षिक ४ हजार ३ सय २० मेट्रिक टन फोहोर व्यवस्थापन हुन सकिरहेको छैन ।

वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोरमध्ये ८ प्रतिशत रबर, १२ प्रतिशत प्लास्टिक, ४ प्रतिशत सिसा, १२ प्रतिशत पेपर, ४ प्रतिशत कपडा र ४ प्रतिशत अन्य फोहोर उत्पादन हुँदै आएको छ । यसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत पसलहरुबाट निस्कने गरेको छ । मापदण्डअनुसार स्टेन्डर मेन्टेन गर्न बजेटमा समस्या भएकोले योजनाअनुसार काम गर्न कठिनाइ भएको अधिकृत पौडेलले बताउनुभयो ।

नगर प्रमुख मोहनमाया ढकालले कुहिने फोहोरको वीरेन्द्रनगरमा समस्या नभएर नकुहिने फोहोर जुन कबाडमा जाँदैन त्यो फोहोरको लागि रिसाइकलको व्यवस्थाको उपाय खोजिरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बजेटको समस्या छैन, करोडौंको राजस्व आउँछ, त्यसलाई लगाउन सकिन्छ । नगर सरसफाइका आधारभूत इन्डिकेट सबै पूरा भइसके तर अब अब्बल तरिकाले अगाडि बढाउने योजना बनिरहेको छ ।’ सेफ्टीट्यांकीको फोहोर व्यवस्थापनबाट नगरपालिकाले वार्षिक ८ लाख आम्दानी गरिरहेको उहाँले बताउनुभयो । उहाँले डम्पिङ साइटलाई व्यवस्थित बनाउन लागि परेकाले एक–दुई वर्षमै वीरेन्द्रनगरलाई फोहोररहित शहर बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्राथमिकतामै छैन फोहोर व्यवस्थापन :

वीरन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापनमा प्रदेश सरकार बेखबर छ । प्रदेश सरकारका संरचना वीरेन्द्रनगरमा झकिझकाउ छन् तर यहाँको फोहोर व्यवस्थापनको पाटो प्रदेश सरकारको प्राथमिकतामै पर्न सकेको छैन। कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखा प्रमुख रेनुका न्यौपानेले वीरेन्द्रनगरको वातावरण संरक्षणमा चुनौती रहेको स्वीकार गर्नुभयो । फोहोर व्यवस्थापनमै भनेर बजेट नभएको उहाँले बताउनुभयो।

‘बर्सेनि जंगल फडानी, आगलागी, फोहोरजन्य वस्तुको व्यवस्थापनमा निकै गाह्रोे भइरहेको छ’, न्यौपाने भन्नुहुन्छ, ‘वीरेन्द्रनगर नगरपालिकाका नागरिकले वातावरण संरक्षणमा ध्यान दिएका छैनन्, हामीले परिवर्तित वातावरणमा अनुकूलन बनाउने खालका कार्यक्रमसमेत सञ्चालन गरेका छौ ।’ तर जलवायु परिवर्तन न्यूनीकरणका लागि दक्ष जनशक्ति र बजेट अभावका कारण कार्यान्वयनमा गाह्रो भएको उहाँको भनाइ छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखाका निमित्त सचिव, वन तथा जैविक विविधता महाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले वातावरण मन्त्रालय भएकाले फोहोर व्यवस्थापन गर्नेभन्दा पनि समग्र वातावरणीय स्वच्छताको काम गर्नुपर्ने बताउनुभयो । उहाँले नीतिगत तथा कानुनी कुरा मात्रै मन्त्रालयले गर्नेमा जोड दिनुभयो । मन्त्रालयले निजी क्षेत्रलाई सहयोग गरेर कानुनी खाका मात्रै तयार गरी योजना दिने उहाँले बताउनुभयो ।