श्रीलंकाले २७ वर्षपछि जित्यो भारतविरुद्ध एकदिवसीय सिरिज


काठमाडौं ।

श्रीलङ्काले २७ वर्षपछि भारतविरुद्ध एकदिवसीय सिरिज जितेको छ। बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलङ्काले सिरिज २-० ले जितेको हो। यस खेलमा श्रीलङ्काले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए। त्यस्तै भारतीय ब्याटिङ ध्वस्त गर्ने क्रममा श्रीलङ्काका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । श्रीलङ्काका लागि आभिस्का फेर्नान्डोले सर्वाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियान परागले ३ विकेट लिएका थिए।

यो जितपछि श्रीलङ्काले ३ खेलको सिरिज २-० ले जितेको छ। श्रीलङ्काले सन् १९९७ पछि पहिलो पटक भारतविरुद्ध  सिरिज जितेको हो।