नुवाकोटको सूर्यचौरमा हेलिकोप्टर दुर्घटना, चालक दलका सदस्यसहित ५ जनाको मृत्यु


काठमाडौं ।

नुवाकोटको सूर्यचौरमा भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको मृत्यु भएको छ। एयर डाइनेस्टीको नाइनएनएजेडी कल साइन भएको उक्त हेलिकोप्टरमा सवार ४ जना चिनियाँ नागरिकसहित चालक दलको घटनास्थलमा नै मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।


काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको उक्त हेलिकोप्टर उडेको ३ निमेटमा नै सम्पर्कविहीन भएको थियो । सो हेलिकोप्टर पाइलट अरुण मल्लले उडाउनुभएको थियो। पाइलट मल्ल ३० वर्षदेखि हेलिकोप्टर उडाइरहेका अनुभवी पाइलट हुनुहुन्थ्यो। उहाँले कर्णाली एयरको हेलिकोप्टरबाट उडान थाल्नुभएको थियो। उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ।

उडेको केही बेरमा नै विमान काठमाडौं विमानस्थलको सम्पर्कबाट बाहिरिएपछि प्रहरीले हेलिकोप्टरको बारेमा नुवाकोट, रसुवा र काठमाडौंको उत्तरी क्षेत्रमा रहेका प्रहरी युनिटलाई अलट गराएको थियो। सो हेलिकोप्टरमा चिनियाँ नागरिकहरू थाङ च्युथाओ, उ इयाओ, लि जे, से च मिङले यात्रा गरिरहेका थिए। उनीहरू नेपाल भ्रमणका लागि आएका चिनियाँ नागरिक भएको बताइएको छ।

सुरक्षा निकायले ५ वटै शव संकलन गरेको भए पनि कसैको पनि शव चिन्न सक्ने अवस्थामा नरहेको प्रवक्ता कार्कीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । सुरक्षा निकायले संकलित शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल माहाराजगञ्ज ल्याएको छ । शवको परीक्षणपछि बुधबार साँझबाट नै पोस्टमार्टम प्रक्रिया अघि बढ्ने अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो ।

छानबिन समिति गठन
सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ । आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् ।
केही हेलिकोप्टर दुर्घटनाहरू
सन् २०२३ : संखुवासभाको सिपरुङमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पर्दा १ यात्रुको उद्धारका क्रममा मृत्यु ।
सन् २०२३ : सोलुखुम्बु जिल्लामा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु ।
सन् २०१९ : एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।
सन् २०१८ : गोरखाबाट काठमाडांै आउँदै गरेको एल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य ५ जनाको मृत्यु ।
सन् २०१५ : भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; ६ अमेरिकी सैनिक, २ नेपाली सेनाका अधिकारी र ५ सर्वसाधारणको मृत्यु ।
सन् २०१५ : सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
सन् २००६ : संखुवासभाको घुन्सामा श्रीएयरको हेलिकोप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केलगायत ।
सन् १९८९ : लाङटाङमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु ।