कल्पनालाई नै वास्तविक महसुस गराउने गेम अफ थ्रोन्स


टेलिभिजन सिरिज गेम अफ थ्रोन्सले संसारभर लोभलाग्दो लोकप्रियता कमाएको छ । अन्तर्राष्ट्रिय टेलिभिजन दुनियाँमा चर्चित र कीर्तिमानी टेलिभिजन सिरिज गेम अफ थ्रोन्स लेखक जर्जआरआर मार्टिनको पुस्तकमा आधारित छ ।

सन् २०११ मा पहिलो सिजन शुरू भएदेखि नै वर्षौसम्म हिट रहेको यो सिरिज आठौं एपिसोडसम्म चलेर सन् २०१९ मा समाप्त भएको थियो । सिरिज सकिएको चार वर्ष बितिसक्दासमेत पनि मानिसहरू यसलाई अझै हेरिरहेका छन् र अहिलेसम्म पनि सबैभन्दा बढी हेरिने सिरिजअन्तर्गत पर्छ ।

यसले सिजन एकदेखि आठसम्म पुग्दा धेरै कीर्तिमान रचेको थियो । गेम अफ थ्रोन्स वेस्टेरोस नामक काल्पनिक सात राज्यमा सेट गरिएको ए सङ अफ आइस एन्ड फायर नामक उपन्यासमा आधारित छ । यसमा फलामको सिंहासनका लागि राज्यको कुलीन परिवारको हिंस्रक वंशवादी सघंर्ष र अन्यले स्वतन्त्रताका लागि लडेको कथा छ ।

आखिर के थियो त गेम अफ थ्रोन्समा ? जसका कारण वर्षौंसम्म हिट बनिरह्यो ।

-सिरिज हिट हुनुको पहिलो श्रेय त यसका लेखकलाई जान्छ । उनले कल्पनामा घोरिएर संसारमा राक्षस, जादुई शक्ति, ड्रागनजस्ता वस्तुलाई केन्द्रमा राखेर लेखेका छन् । त्यस्तै, यसमा कलाकारको उत्कृष्ट अभिनय तथा यसमा प्रयोग गरिएको संगीतको पनि उत्तिकै भूमिका छ ।

-सिरिजमा कालो जादूको करामत, ब्ल्याक स्पिरिट, ह्वाइट वाकर्स, राक्षस, तीन भयंकर ड्रागन आदि रहेका छन् ।

-सिरिजमा गम्भीर खालका राजनीतिक षड्यन्त्रलाई पस्किएको छ र त्यति नै मिहिन तरिकाले छायांकन गरिएको छ । यसमा दोस्ती, राजनीति, विश्वसघात आदि समावेश छ, जसले गर्दा राजनीतिमा चासो नै नभएका मासिनलाई पनि आकर्षित गर्छ ।

-यसमा पात्रहरूको वीभत्स र रहस्यमय मृत्यू हुन्छ । सिरिज यति रहस्यमय छ कि यसमा कुनबेला नायकको जीत हुन्छ र कुनबेला खलनायकले जित्छ कौतूहलता जन्माइदिइरहन्छ । सिरिजमा नायक कतिबेला खलनायक भएर निस्किन्छ र को खलनायक हो भन्ने पत्तो हँुदैन । दर्शकको गेसलाई सिरिजले पटकपटक फेल गराइदिन्छ ।

-यो काल्पनिक संसारबारे निर्माण गरिएको सिरिज हो । जसले कल्पनाको संसारलाई जस्ताको तस्तै पस्कन्छ । जसका कारण दर्शक अचम्ममा पर्छन् । सिरिजमा विनासेन्सर अत्यधिक कामुक दृश्य, आफन्तबीच यौन सम्बन्ध, बालयौन दुराचारका दृश्य, हताहत र भयंकर युद्धका दृश्य देखाइएको छ ।

-महिलामाथि हुने हिंसा र महिलालाई गरिएको चित्रणका कारण यो सिरिजमाथि शुरूमा महिलालाई अपमान गरेको आरोप थियो । तर, कथाको विस्तारसँगै महिलालाई दिइएको शक्तिशाली भूमिका र चित्रणका कारण पछि सिरिज महिलावादी भएको धारणा बनेको थियो ।

-भीएफएक्स प्रविधिको सहयोगले निर्माण गरिएको बडेमानको ड्रागनको युद्ध खिच्नु चुनौतीको विषय हो । आँगो ओकल्ने ड्रागनको दृश्य खिच्न करिब डेढ करोड डलरसम्म खर्च हुने गरेको थियो ।

-सिरिजले कठिन परिस्थितिमा शासकलाई जनता, परिवार, क्षेत्र इत्यादिको हितका लागि आफ्नो सिद्धान्त र नैतिकतामा सम्झौता गर्न आवश्यक छ भन्ने शिक्षा दिन्छ । साथै हिरो बनेर आगाडि आउनुजति सजिलो छ, नेतृत्व गर्न त्यति नै कठिन छ भन्ने देखाउँछ।

-यो सिरिज हेर्दा केटाकेटीलाई कल्पनाको संसारको मज्जा दिलाउँछ भने युवाहरूलाई बाल्यकालमा सुनेका परीको कथाको स्मरण गराइदिन्छ ।

-सिरिजले सन् २०१७ मा एकैपटक एक सय ७३ देशमा हेरिएको सिरिजका रूपमा गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरेको थियो । सिजन ८ को पहिलो एपिसोड १७.४ मिलियन मानिसले एकैपटक हरेका थिए । सिरिजले ८ सिजनभरिमा ५९ एमी अवार्ड जितेको छ । यसले सन् २०१६मा एक दिनमा एभरेज ७.१९ मिलियन पटक हेरिएको रेकर्ड बनाएको छ ।