प्रधानमन्त्री ओलीको निर्देशन : रामेछापमा पुष्पलाल लोकमार्गको एलाइनमेन्ट चेञ्ज गर्नु


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडी पुष्पलाल लोकमार्गको ठाउँ ठाउँमा बाटो परिवर्तन गर्न निर्देशन दिएका छन्। आइतबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै ओलीले पुष्पलाल लोकमार्गको रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताए। ‘बाटाको एलाइनमेण्ट चेञ्ज गर्न जरुरी छ केही ठाउँमा, अनावश्यक ठाउँमा खर्च भएको छ’, ओलीले भने। 

ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुई वटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताए। सो सडक खोलाको सुन्दरताको लागि वा आवश्यकता भएर खनेको ? भन्दै ओलीले प्रश्न गरे। खोला आफैमा सुन्दर हुने भएकोले खोलाको सुन्दरताको लागि सडक खन्नु नपर्ने उनको भनाइ छ। 

मानववस्ती जहाँ छ र छोटो ढङ्गले जहाँ सडक लैजान सकिन्छ त्यहाँबाट सडक  खन्नु पर्ने ओलीले बताए। त्यो आजका लागि मात्र नभएर एक सय वर्ष पछिका लागि पनि गरिएको काम भएकोले त्यो बाटो छोट्टाउन उनले निर्देशन दिए। 

ओलीले काभ्रेबाट चौँरी खोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न सुझाव दिए। ‘माथि दोरम्बातिर शैलुङको तलबाट मन्थलीबाट आउँदा कहाँबाट पर्छ सोझो त्यतैबाट स्वाट्ट निकाल्दा बाटो छोटो पनि पर्छ, बाटो अनावश्यक रूपमा घुमाएको देख्दा ताजुब लाग्छ’, ओलीले भने। 

ओलीले यस्तो काम गर्दा कुनै राजनीतिक दबाबमा नपर्न पनि आग्रह  गरे। नेताको गाउँ त्यहाँ पर्‍यो, नेताको घर त्यहाँ पर्‍यो भनेर बाटो नघुमाउन उनले निर्देशन दिए। नेताको प्रेसरमा होइन जहाँबाट बढी जनसङ्ख्याले लाभ लिन्छ बाटो त्यहीँबाट लैजान उनले स्पष्ट निर्देशन दिए । ‘त्यो नेता हिँड्ने बाटो हो ? गाडी हिँड्ने बाटो होइन ?’, ओलीले प्रश्न गरे। 

ओलीले प्राविधिक हिसाबले जताबाट जे गर्नुपर्छ त्यही काम ढुक्क भएर गर्न आग्रह गरे। त्यस्तो प्रेसर आए त्यसको सामना आफूले गर्ने ओलीले विश्वास दिलाए।  बाटो छोटिने र दुर्घटनाको सम्भावना कम हुने तथा बढी भन्दा बढी जनताले लाभ लिने गरी बाटोको एलाइनमेन्ट अघि बढाउन उनले आग्रह गरे। ‘पुष्पलाल हाइवेको एलाइन्मेट चेञ्ज गर्नै पर्छ’, ओलीले भने।