गरिबीको पराकाष्टा: छिमेकीको जग्गामा त्रिपालमुनि किरिया

1.5k
Shares

सुर्खेत ।

बाँचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामी परिवार लिएर यही साउनको पहिलो साता भारत जानुभयो। गुजारा चलाउन धौधौ भएपछि चन्द्रको श्रीमान्श्रीमती भारत गएको तीन दिनमै श्रीमती गोमा कामीको अचानक मृत्यु भयो।

शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गर्नुभयो। किरिया गर्न भने उहाँ फर्केर वीरेन्द्रनगरमै आउनुभयो। तर, यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बस्नुभएको छ।

चन्द्र आफ्नो २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहनुभएको छ। वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उहाँहरूले निकै सकस व्यहोर्नुपरेको छ। बसाइमात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौधौ भएको छ।

दश दिनअघि ज्याला मजदुरीका लागि भन्दै चन्द्रका श्रीमान्श्रीमती भारतको चण्डीगढ पुग्नुभएको थियो। त्यहाँ ढुंगा बोक्ने काम शुरू गरेको दुई दिनमै पाँच दिनअघि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्र पीडाले विक्षिप्त बन्नुभएको छ। चन्द्रको पुरानो घर जाजरकोट हो । सानैमा आमाबुबा गुमाएर सम्पत्ति कमाउन नसके पनि श्रीमती र छोराछोरीको मायाले बाँचेको भन्दै उहाँले श्रीमतीको पनि मृत्यु भएपछि आफूमा झन् चिन्ता थपिएको बताउनुभयो।

यहाँको ज्याला मजदुरीले छाक टार्न मुस्किल भएपछि भारत पुगेको भन्दै उहाँले त्यहाँ पनि दशा लागेर श्रीमतीको मृत्यु भएको उल्लेख गर्नुभयो। सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि शव घर ल्याउने पैसासमेत नभएपछि उतै दाहसंस्कार गरेर आफू सुर्खेत फर्किएको भन्दै उहाँले यहाँ पनि त्रिपालमै पसेर किरिया गर्नुपरेको जनाउनुभयो।

ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन्। किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाउने काम गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न नसक्ने हुनुभएको छ । छोरी सानै भएकाले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता चन्द्रलाई छ।

ज्याला मजदुरी गरेर छाक टार्नै मुस्किल हुने चन्द्रको परिवारको बासको टुंगो छैन । छिमेकीले दुःख देखेर जग्गामा कटेरो बनाएर बस्न दिए पनि त्यो पनि अहिले भत्किसकेको छ । कटेरो भत्किएपछि बनाउने अवस्था नहुँदा चन्द्रका श्रीमान्श्रीमती कमाउनका लागि भारत पुगेका थिए । १३ दिने किरिया त्रिपालमा गरिरहँदा आकाशबाट परेको पानीले झन् चिन्ता थपिएको उहाँ बताउनुहुन्छ। छाक टार्ने खाद्यान्नसमेत नहुँदा सो परिवारले सहयोगको अपेक्षा गरेको छ।

५२ वर्षीय चन्द्रलाई सानैदेखि पालनपोषण गरेकी फुपू जलधारा सुनारले चन्द्रको परिवारलाई पालन गर्न गाह्रो हुने भएकोले मनकारी सहयोगीहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। श्रीमान्श्रीमती हुँदा दुःख गरेर कमाएर जीवन चलाए पनि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्रलाई जीवन चलाउन कठिन भएको उहाँले बताउनुभयो। छिमेकीहरूले एक दुई छाक चामल सहयोग गरेको भन्दै उहाँले किरिया सकिएपछि सबैले सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ।