रुद्राञ्जु प्रतिष्ठानलाई निरन्तर सहयोग


काठमाडौं ।

 ज्येष्ठ नागरिकको सेवामा समर्पित कीर्तिपुर क्षेत्रको लोकप्रिय संस्था रुद्राञ्जु प्रतिष्ठानको सातौं वार्षिकोत्सव तथा समाजसेवी अञ्जु शर्मा गौतमको आठौँ स्मृति दिवस शुक्रबार सम्पन्न भएको छ।  

यस क्षेत्रका संघीय सांसद तथा पूर्वमन्त्री राजेन्द्रकुमार केसी तथा बागमती प्रदेश सांसद पुकार महर्जन  प्रमुख अतिथि र विशेष अतिथि रहेको वार्षिकोत्सव समारोहमा कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक, प्राध्यापक, डाक्टर, शिक्षक र समाजसेवीहरुको सक्रिय सहभागिता रहेको  थियो । 

रुद्राञ्जु प्रतिष्ठान प्राडा रुद्रप्रसाद गौतमले स्वर्गीय धर्मपत्नी अञ्जु शर्माको नाममा आफ्नो सम्पूर्ण घरजग्गा लगायतको सम्पत्ति राखेर कोष खडा गरी प्रतिष्ठान बनाएका हुन्  ।

 प्रमुख अतिथि केसीले सांसद विकास कोषबाट संस्थाको विस्तार तथा निर्माणमा सहयोग गर्दैआएको स्मरण गर्दै यस पटक प्रतिष्ठानको मूल भवनमा ट्रष्ट हाल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, रेडियो नेपालका प्रमुख अधिकृत चन्दा विष्ट, पत्रकार, संस्थालाई दान र सहयोग गर्ने दाताहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो । चार सयभन्दा बढी व्यक्तिको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पुस्तक विमोचन, छात्रवृत्ति वितरण तथा दाताहरुको सम्मान गरिएको थियो ।