एकीकृत समाजवादीले बनायो ३४४ जनाको केन्द्रीय कमिटी


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो ।

शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३४४ जना पुर्‍याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले भने,‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौँ । अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरू छनौट गर्नेछौं । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ । ’

केन्द्रीय सदस्यको शपथपछि पार्टीको पदाधिकारी चयन हुने प्रवक्ता खतिवडाले बताए ।