१० किलो चरेससहित २ जना पक्राउ


हेटौंडा ।

 प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, चुरियामाईनजिक पिपल चौतरास्थित पूर्वपश्चिम सडकखण्डमा हेटांैडाबाट पथलैयातर्फ जाँदै गरेको बसका २ यात्रीबाट चरेश बरामद गरेको छ ।

ना. ६ ख ५८३९ नम्बर यात्रुबाहक बस जाँच गर्ने क्रममा उक्त बसमा यात्री पर्साको सखुवाप्रसौनी गापा वडा–१ बस्ने वर्ष २६ का हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया गापा वडा–१ बस्ने वर्ष ४३ का अनिलभर चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई शंका लागेर बसबाट ओराली शरीर तथा झोला खानतलासी गर्दा झोलाभित्र कार्टुन टेपले बेरेर लुकाइराखेको अवस्थामा लागुऔषध चरेश १० किलो २ सय ५० ग्राम फेला परेको हो । बिहीबार साँझ करिब ५ बजे पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।